Prachanda-Oli-Nepal.jpg

काठमाडौं— नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूह सार्वजनिक रुपमा एकअर्काप्रति निकै आक्रामक रुपमा प्रस्तुत भइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अधिकांश समय र ऊर्जा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाललाई खुइलाउन खर्चिरहेका छन् । अनि दाहाल र नेपाल समूह पनि ओलीलाई निरङ्कुश र तानाशाह शासकको रुपमा स्थापित गर्न लागिपरेका छन् । केही नेताले ओलीलाई सार्वजनिक रुपमा बहिष्कार गर्नुपर्ने अभिव्यक्ति समेत दिन थालेका छन् । यस स्थिति हेर्दा आगामी दिनमा दुई समूहको सम्बन्ध अझै बिग्रने देखिन्छ । तर, प्रधानमन्त्री ओली र विपक्षी नेपाली कांग्रेसको सम्बन्ध भने तुलनात्मक रुपमा त्यति बिग्रेको छैन । पछिल्लो समयमा दिनहुँजसो सार्वजनिक कार्यक्रममा सहभागी भइरहेका ओलीले कांग्रेसबारे त्यति खरो टिप्पणी गरिरहेका छैनन् ।

यति मात्र होइन्, हालै ओलीले जारी गरेको अन्तरपार्टी निर्देशनमा कांग्रेस क्रमशः निर्वाचन उन्मुख हुने विश्वास ओलीले गरेका छन् । आइतबारको राष्ट्रिय सभाको वैठकमा ओलीप्रति दाहाल—नेपाल गरम र कांग्रेस नरम भएको एउटा दृष्टान्त प्रस्तुत भएको छ । सो बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएपछि दाहाल—नेपाल समूहले वहिष्कार ग¥यो । तर, सो बैठकमा कांग्रेसका सांसदहरु सहभागी भए र धैर्यपूर्वक ओलीको लामो भाषण पट्यारलाग्दो भएको बताएका छन् । यति मात्र होइन, कांग्रेसका सांसदहरु प्रधानमन्त्रीसँग प्रश्न—उत्तर सत्रमा समेत सहभागी भएका थिए ।

सरकारको आलोचना नै गरेता पनि कांग्रेसका सांसदहरुले ओलीलाई राष्ट्रिय सभामा साथ भने दिएका थिए, नत्र उनको सम्बोधनमा राष्ट्रिय सभा खाली हुन सक्थ्यो जसले ओलीलाई लाजमर्दाे बनाउन सक्ने स्थिति आउन सक्थ्यो । उता दाहाल—नेपाल समूहले राष्ट्रिय सभाको बैठक वहिष्कार मात्र गरेन, सो समूहको स्थायी समितिको बैठकले पूर्वप्रधानन्यायशीहरुले संयुक्त वक्तब्य दिएकोमा प्रधानमन्त्रीले अपमानित गर्ने र धम्क्याउने काम गरेको भन्दै उक्त कार्य आपत्तिजनक भएको निष्कर्ष निकालेका छन् । यति मात्र होइन, सो समूहले अधिनायकवादी र निरङ्कुश चरित्र बन्द गर्न प्रधानमन्त्री ओलीलाई चेतावनी समेत दिएको छ ।

बैठकमा बसेर कांग्रेसका सांसदहरुले भने अधिवेशन अन्त्यको विषयमा विरोध गर्छन् कि भन्ने थियो । तर, त्यस्तो केही गरेनन्, यसरी सरकारको चाहना जतिसक्दो छिटो अधिवेशन अन्त्य थियो । यसमा कांग्रेसले साथ नै दिएको पाइयो । किनभने, संसदमा विधेयकका अलवामा जनचासोका विषयलाई लिएर ध्यानाकर्षण प्रस्ताव, जरुरी सार्वजनिक महत्वको प्रस्ताव वा संकल्प प्रस्ताव पेस गर्न सकिन्थ्यो । र, ती विषयमा छलफल चलाउन सकिन्थ्यो । तर, कांग्रेसले ध्यान नै दिएन । अर्थात्, जनसरोकारको विषयमा कुनै प्रकारका प्रस्ताव राष्ट्रिय सभामा नलगेर प्रधानमन्त्रीको बिजनेश छैन भन्ने तर्कमा कांग्रेसले साथ दियो ।

यति मात्र होइन, ओलीले संसद भङ्ग गरेलगत्तै दाहाल—नेपाल समूहले तत्कालै संयुक्त सडक संघर्षको लागि गरेको प्रस्तावलाई कांग्रेसले अस्वीकार गरिदियो । त्यति नै बेला दाहाल—नेपाल समूहले कांग्रेस सांसदको हस्ताक्षर सहित सर्वाेच्चमा रिट हाल्ने प्रस्ताव गरेको थियो, त्यसलाई पनि कांग्रेसले अस्वीकार गरिदियो । हुन त ओली नेतृत्वको सरकार बनेदेखि नै सरकारप्रति नरम नीति लिएको भनी पार्टीभित्र देउवाको निरन्तर आलोचना भयो । सरकारले गर्ने राजनीतिक नियुक्तिमा देउवाले भाग पाइरहे । त्यसैले पनि हुनसक्छ देउवाले अन्य दलसँग मिलेर ओलीविरुद्ध संयुक्त संघर्ष गर्न मानेनन् ।

नेकपाभित्रको संकट गहिरिदै जाँदा पनि ओलीले चाल्ने कुनै पनि कदमलाई देउवाले साथ दिने त होइनन्, भन्ने आशंका पार्टीभित्र मात्र होइन दाहाल र नेपाललाई पनि थियो ।त्यही भएर नै दाहाल र नेपालले संयुक्त रुपमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर देउवाले ओलीलाई गर्न सक्ने समर्थनको बारेमा ध्यानाकर्षण गराएका थिए । ओलीको नीति पनि कांग्रेस र जनता समाजवादी पार्टीलाई नचिढाउने छ । यदि संसद पुनर्स्थापित भइहालेको खण्डमा कांग्रेस र जनता समाजवादीसँग मिलेर आफ्नो नेतृत्वको सरकारलाई निरन्तरता दिने र निर्वाचनको समयमा देउवालाई सरकार हस्तान्तरण गर्ने रणनीति ओलीको रहेको जानकारहरु बताउँछन् ।