Narayan-Kaji-Shrestha.jpg

काठमाडौं – शक्तिको दुरुपयोग गरेर पूर्वप्रधानन्यायाधीशहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले धम्क्याएको भन्दै नेकपा प्रचण्ड–माधव समूहले आपत्ति जनाएको छ ।

संसद् विघटनबारे पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त वक्तव्य जारी गर्नुभएको प्रति प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश व्यक्त गर्दै आउनु भएको छ । प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा अदालतको काममा बाधा गरेको भन्दै आलोचना गर्नुभएको थियो ।

नेकपा प्रचण्ड–माधव समूहको आज अपरान्ह बसेको सचिवालय बैठकले पूर्वप्रधानन्यायाधीशहरुले नागरिकको हैसियतमा बोल्दा प्रधानमन्त्रीले अपमानित गर्ने र धम्क्याउने काम गरेको भन्दै आपत्ति जनाएको छ ।

सचिवालयको बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले हरेक नागरिकले आफ्नो विचार राख्न पाउने संवैधानिक हक र नागरिक स्वतन्त्रताको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकले सरकारी सञ्चार माध्यमहरु एउटा गुटको पर्चा जस्तो भएको भन्दै प्रवक्ता श्रेष्ठले ‘सरकारी स्रोत साधनको दुरुपयोग गर्न बन्द गरियोस्’ भन्नुभएको छ ।