Reporters-Club.jpg

सिसडोलवासीले १५ दिनभित्र आफूहरुको माग पूरा नगरे फोहोरमैला व्यवस्थापनलाई रोक्ने चेतावनी दिएका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी सिसडोल–बञ्चरेडाँडा फोहोरमैला व्यवस्थापन सरोकार समितिले आजको मितिबाट १५ दिनभित्र ११ बुँदे माग पूरा नभए काठमाडौंबाट फोहोर ल्याउने कार्य रोक्ने चेतावनी दिएका हुन् । समितिका संयोजक नवराज ढुङ्गानाले विगत १५ बर्ष देखि फोहोर थुप्रीएर आतङ्क मच्चाई रहेको टिप्पणी गरका छन् । पटक पटक जायज माग उठाउँदा आश्वासन मात्र दिइएको भन्दै यसपटक १५ दिनभित्र पूरा नगरे फोहोर मैला ल्याउन ठप्प पार्ने चेतावनी दिएका हुन् । उनले सिलडोलमा अब कि त फोहोर बस्ने कि त मान्छे बस्ने गरी टुङ्गो लगाउन सरकारसँग माग गरका छन् ।

कार्यक्रममा बोल्दै शहरी विकास राज्यमन्त्री रामबिर मानन्धरले फोहोरमैलाको व्यवस्थापनको लागि नयाँ प्रविधिको मेसिन राख्नुपर्नेमा जोड दिनुपर्ने बताएका छन् । फोहोरमैला व्यवस्थापन सधै गम्भीर विषय बन्दै आएकाले यसको दिगो समाधानमा जोड दिन आग्रह समेत गरेका छन् । उनले ‘प्रविधि मार्फत फोहोरको समाधान हुन्छ । फोहोरमैलाको व्यवस्थापनको जिम्मेवारी सरकारको होइन काठमाडौ महानगरपालिका हो भनेका छन् ।’ नेपाली कांग्रेस नुवाकोटका नेता रमेश महतले काठमाडौंबाट प्रहरी लगेर जबर्जस्त फोहोर फालिने गरेको आरोप लगाएका छन् । उनले जनतामाथि जोडजर्बजस्ती सह्य नहुने बताए । महतले भने, ‘सरकारले त्यसको बैकल्पिक व्यबस्थापन गरेर कर उठाएर यसको उचित व्यवस्थापन गर्नुपर्छ ।’

कार्यक्रममा विज्ञप्ति सार्वजनिक गर्दै समितिले उपत्यकाको फोहोरले सिसडोल आसपासका बस्तीहरुमा विगत १५ वर्षदेखि निरन्तर आतङ्क मच्चाउँदै आइरहेकाले समस्या हल गर्नका लागि प्रधानमन्त्री तथा मन्त्री परिषद्बाट वा मुख्य सचिव र सम्बन्धित मन्त्रालयका सचिवहरु, विषयगत समितिहरु र उपत्यका नगर फोरम सहित सरोकारवालाहरुको प्रतिनिधिको उपस्थितिमा संयुक्त बैठक बसी तत्काल स्थानियवासीहरुको माग सम्बोधन गर्न माग गरेको जनाएको छ ।