KP-Oli-in-Rastriya-sava.jpg

काठमाडौं —प्रधानमन्त्री केपी शर्मा ओलीले चाहेर पनि आफूलाई कसैले हटाउन नसकेको भन्दै यही स्थिरता र स्थायित्व भएको बताएका छन् । आइतबार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चुनाव हुनु अस्थिरता नभएको जिकिर गरका छन् । उनले भने, ‘संवैधानिक बाटोबाट जाँदा अस्थिरता भनिँदैन,’ ‘अस्थिरता त्यतिबेला हुन्छ, जतिबेला बाध्य शक्तिको इशारामा जब देशका शक्तिहरु गोटी बन्न थाल्छन्, राष्ट्रिय राजनीतिलाई अस्वस्थतातिर धकेल्न थाल्छन्, विकासका काममा बाधा व्यवधान गर्न थाल्छन् र निर्वाचित प्रधानमन्त्रीलाई काम गर्ने वातावरण नै दिदैँनन् ।’

ओलीले ५ वर्ष सरकार टिकोस् भन्ने चाहेको तर आफ्नै पार्टीका नेताहरुले देशलाई अस्थिरतामा लैजाने प्रयास गरेको आरोप लगाएका छन् । ‘त्यसमा प्रायोजित सञ्चार माध्यम प्रयोग भएका छन्, बुद्धिजिवीहरुको एउटा झुण्ड पनि लागेको छ,’ उनले भने, ‘संसद विघटनबाट अस्थिरता सिर्जना गर्ने प्रयास रोकिएको छ । संसद विघटनलाई असंवैधानिक र गैरजिम्मेवारपूर्ण कदम भनेको भन्दै प्रधानमन्त्री ओलीले आक्रोश पोखका छन् । आफूले जिम्मेवारी बोधका साथ प्रतिनिधिसभा विघटन गरेको भन्दै उनले ‘लोकतन्त्र ल्याउन जनताले जति बलिदान गरेका छन्, त्यसको हिसाब गरेर पदलोलुपता मान्छेहरुलाई हावी हुन दिएर लोकतन्त्रलाई डिरेल गर्न दिन हुुँदैन भनेर प्रतिनिधिसभा विघटन गरेको हुँ ’ भनेका छन् । आफूले कुनै गल्ती गरेको भए जनताले दण्डित गर्ने भन्दै उनले निर्वाचनमा जान आग्रह गरेको समेत बताएका छन् ।

उनले संसद विघटनको विपक्षमा उभिएका पूर्वप्रधानन्याधीश र नागरिक समाजका अगुवाहरुको पनि आलोचना गरेका छन् । उनीहरुले अदालतलाई दबाव दिएको र स्वतन्त्र ढंगले काम गर्न बाधा पुर्याएको उनको आरोप छ । पूर्वप्रधानन्यायाधीशहरुले सडकमा उर्लिएर स्वतन्त्र न्यायालयलाई लल्कारेको भन्दै उनले भने, ‘एक जना वकिलले प्रधानन्यायाधीशलाई वर्तमान र भविष्य सम्झिएर फैसला गर्नुस् भनेछन् । अराजकताको पनि हद हुन्छ नि ?’

राजनीतिक पक्षधरता देखाएको र न्यायालयलाई दबावमा पार्न खोजिएको भन्दै उनले भने, ‘न्यायालय दबावमा पर्न हुन्न । सरकार र मैले नेतृत्व गरेको नेकपाले अदालत, शक्ति पृथकीकरणको सिद्धान्त मान्छ ।’ संसद विघटन राजनीतिक निर्णय भएको भन्दै उनले त्यसविरुद्ध परेको रिट खारेज हुनुपर्ने दाबी गरेका छन् ।