rastriya 26.jpg

काठमाडौं — पुस १७ गतेबाट सुरु भएको राष्ट्रिय सभाको हिउँदे अधिवेशनमा राष्ट्रपतिबाट जारी गरिएका विभिन्न ७ वटा अध्यादेशहरु पेस भएका छन् । जम्मा १० दिनको अवधिमा ४ दिन बैठक बस्दा बैठक अवधि ७ घण्टा ५ मिनेट रहेको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले जानकारी दिएका छन् । संवैधानिक परिषदको काम कर्तव्य र अधिकार सम्बन्धी पहिलो संशोधन अध्यादेश, नेपाल प्रहरी तथा प्रदेश प्रहरीको कार्य सञ्चालन तथा सुपरिवेक्षणसम्बन्धी अध्यादेश, सामाजिक सुरक्षा अध्यादेश, तेनाब तथा अन्य घातक रासायनिक पदार्थको नियमन सम्बन्धी अध्यादेश, औषधि तेस्रो संशोधन अध्यादेश, हिंसाविरुद्ध केही नेपाल ऐन संशोधन अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी अध्यादेश अधिवेशन नचलेको अवस्थामा राष्ट्रपतिबाट जारी गरिएका थिए ।

अधिवेशन अन्त्य सम्बन्धी राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको पत्र आज आइतबार राष्ट्रिसभा बैठकमा वाचन गरेर सुनाइएको छ । पत्रमा आइतबार राति १२ बजेबाट राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य हुने उल्लेख गरिएको छ । मन्त्रिपरिषदको आइतबारै बसेको बैठकले अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था रहेको छ ।अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को बैठक बस्नै पर्ने कानुनी प्रक्रिया समेत छ ।