sunchadi.jpg

काठमाडौं — नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सुन आयातको कोटा बढाउन सरकारसगँ आग्रह गरेको छ । विदेशी विनिमय सञ्चित गर्ने नाममा सरकारले सुनको कोटा घटाउँदा व्यवसायीहरुले पसल बन्द गर्नु पर्ने अवस्थामा पुगेको महासङ्घका अध्यक्ष मोहन कुमार विश्वकर्माले बताएका छन् । काठमाडौंमा सुरु भएको महासङ्घको सातौं तथा आठौं वार्षिक साधारणसभा एवं तेस्रो महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । बजारमा उपभोक्ताले माग गरे बमोजिम सुनको अभाव भएको भन्दै उनले कच्चा पदार्थ नभएर व्यवसाय गर्नै नसकिने अवस्थामा पुगिएको गुनासो समेत गरका छन् । ‘कोरोनाको नाममा व्यवसाय धर्मराएकै छ त्यसमाथि सरकारी कोटा प्रणालीले सिजनमै व्यवसाय चल्न सकेन,’ अध्यक्ष विश्वकर्माले भने, ‘सुनको आयात तत्काल नबढाउने हो भने धेरै व्यासायीहरु पलायन हुने अवस्था आउन बेर लाग्दैन ।’ दैनिक १० किलो सुनको आयातले सात प्रदेशमा वितरण गर्नै नपुग्ने अवस्था आएको उनको भनाइ थियो ।

सामान्य अवस्थामा दैनिक १५ किलो र सिजनका बेला दैनिक ४० देखि ४५ किलो सुन आयात गर्ने व्यवस्था गर्न पनि उनले सरकारसँग माग गरेका छन् । सुन आयातको सम्बन्धमा सरकारी नीति अस्थिर भएको भन्दै अध्यक्ष विश्वकर्माले व्यवसाय प्रवर्द्धन नियमन गर्ने ऐन तथा कार्यविधि तत्काल ल्याउन सरकारको ध्यानाकर्षण गराउनु पर्नेमा जोड दिएका छन् । महासङ्घका अनुसार नेपालमा एक वर्षमा झण्डै ५० अर्ब रुपैयाँ बराबरको सुन चाँदीको कारोबार हुन्छ । देशभर २२ हजार व्यवसायी यो क्षेत्रमा संलग्न रहेको र १२ अर्बभन्दा धेरै कर राज्यलाई बुझाउने गरेको छ ।