Bam-Dev-Gautam-1.jpg

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन् । शनिबार एक वक्तव्य जारी गर्दै गौतमले पार्टी विभाजनलाई रोक्दै एकता राष्ट्रिय अभियानमा जुट्न देशभरका नेता कार्यकर्ताहरुलाई आव्हान गरेका छन् । आफ्नो वक्तव्यमा उनले शीर्ष नेताहरुको कमजोरीका कारण पार्टी विभाजनको स्थितिमा आइपुगेकाले नेताहरुलाई एकताका पक्षमा खबरदारी गर्न र पार्टी एकताका पक्षमा उभिन दबाब दिन कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । उनले पार्टी विभाजनको अवस्थामा आइ पुग्नुका पछाडि दुवै अध्यक्षहरु (केपी शर्मा ओली र पुष्पकमल दाहाल) उत्तिकै जिम्मेबार रहेको बताएका छन् । गौतमले छापामार शैलीमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नु प्रचण्डको गल्ती रहेको आशय व्यक्त गरेका छन् । अविश्वासको प्रस्तावको सामना गर्न नसक्ने अवस्था भए राजीनामा दिनुको सट्टा प्रतिनिधिसभा नै भङ्ग गर्ने प्रधानमन्त्रीको कदम झनै गलत रहेको गौतमले उल्लेख गरेका छन् । कमी कमजोरीलाई सच्याएर फेरि एकताका लागि तयार हुन उनले दुई अध्यक्षसहित नेतृत्वमा रहेका नेताहरुलाई पनि आग्रह गरेका छन् ।

गौतमले एकताका पक्षमा पर्चा पम्प्लेट वितरण गर्न, स्वास्थ्य सावधानी अपनाएर जुलुस प्रदर्शन गर्न कार्यकर्ताहरुलाई आव्हान गरेका छन् । उनले भनेका छन्, ‘नेकपा एकता राष्ट्रिय अभियानमा संगठित रुपमा जुट्नुहोस् । तपाईँहरु जुन ठाउँमा हुनुहुन्छ त्यहीँ नेकपा एकता अभियानको नाममा सङ्गठन खडा गर्नुहोस् र विभाजनमा ढल्केका कमरेडहरुलाई सम्झाउनुहोस् । कुनै पनि समूहका नेता कमरेडहरुको गालीगलौजको शैलीमा विरोध नगर्नुहोस् । घरमा आउने कमरेडहरुलाई आफूसक्दो सहयोग गर्न आग्रह गरेका छन् । सबैलाई सम्मान गर्ने कसैलाई पनि अपमान नगर्ने समाजवादी शैली अपनाएर कोरोना महामारीबाट बच्न सामाजिक दूरी कायम गर्दै प्रत्येकले नाक र मुख ढाक्ने मास्क लगाएर नेकपा एकताको आह्वानमा लाग्न एकताको सन्देश दिएका छन् । गौतमले अहिले नेकपाको दुवै समूहमा रहेका नेता तथा कार्यकर्ताहरुलाई पनि लडाई बन्द गरी एकतावद्ध हुन आग्रह गरेका छन् ।

गौतमले दुवै समूहमा सामेल हुनुभएका कमरेडहरु, एक अर्कालाई दोष दिँदै, सामान्य मान मर्यादा उल्लङ्घन गर्दै आफ्ना ऐतिहासिक योगदानहरुलाई च्याँखे थापेर देश र विदेशका कम्युनिस्ट विरोधीहरुलाई हसाउँदै शुरु गर्नुभन्दा लडाई बन्द गरेर पुनर्मिलन गरी हजारौं शहीदहरुको रगतबाट विकसित भएको हाम्रो प्यारो पार्टीलाई मिलेर पुनर्गठन गरौं, ऐतिहासिक शिक्षा लिएर पार्टीलाई व्यवस्थित गरौं र पार्टीमा उत्पन्न भएका सबै अन्तरविरोधहरुलाई पार्टी पद्धति अनुरुप सम्मानजनक ढङ्गबाट हल गर्न अनुरोध गरेका छन् ।