rastriyasabha-baithak-2076.jpg

काठमाडौं —राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्तर्गत राष्ट्रिय सभाको तेस्रो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सांसदहरु नै सरकार बचाउ अभियानमा लागेका छन् । आज बसेको बैठकमा विशेष समयमा बोल्ने नेकपाका ७ सांसदहरुमध्ये ५ सांसद्ले ओलीको बचाउ मात्र गरेनन्, सडक आन्दोलनमा गएका प्रचण्ड–नेपाल पक्षलाई निर्वाचनमा गएर बहुमत ल्याई प्रधानमन्त्री बन्न समेत सुझाव दिएका छन् । नेकपाका ७ सांसदहरु मध्ये नेकपा प्रचण्ड–नेपाल पक्षका प्रवक्ता समेत रहेका सांसद् नारायणकाजी श्रेष्ठ र जगप्रसाद शर्माले मात्रै प्रतिनिधि सभा विघटन असंवैधानिक रहेको बताउँदै सरकारको आलोचना गरेका थिए भने ओलीपक्षका अन्य ५ सांसदले भने सरकारको बचाउ गर्दै पार्टीभित्र काम गर्न नदिएपछि प्रधानमन्त्रीले उपयुक्त कदम चालेको दावी गरेका छन् ।

प्रधानमन्त्री ओलीनिकट सांसद्हरु देवेन्द्र दाहाल, दिलकुमारी थापा पार्वती, बिमला घिमिरे, कोमल वली र भगवती न्यौपानेले सरकारको बचाउ गर्दै संसद विघटन गरेर निर्वाचन घोषणा उचित रहेको भन्ने पक्षमा धेरै समय खर्चिए । सांसद् भगवती न्यौपानेले झापा आन्दोलनबाट उदाएको चम्किलो योद्धालाई असफल बनाउन पार्टीभित्र विभिन्न हर्कत गरिएको दावी समेत गरेकी थिइन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई घेराबन्दी गरेर काम गर्न नदिएको बताउँदै प्रधानमन्त्रीले सांसद किनबेच गरेर खुट्टा तानेर प्रधानमन्त्री बन्ने फोहोरी खेललाई रोकेको दावी गरेकी छन् ।