nepal-dhitopatra-board.jpg

काठमाडौं —सेयर बेचेको रकम अब तेस्रो दिन नै पाइने भएको छ । नेपाल धितोपत्र बोर्डले यसअघि लाग्दै आएको समयलाई घटाएर अब तेस्रो दिन नै रकम पाउने व्यवस्था गरेको हो । धितोपत्र कारोबार तथा राफसाफ प्रणालीसम्बन्धी निर्देशिका संशोधन गर्दै यसअघि रहेको टी प्लस ३ को राफसाफ समयलाई टी प्लस २ मा झारिएको बोर्डका सह–प्रवक्ता रुपेश केसीले जानकारी दिएका छन् । टी ले कारोबारको समयलाई जनाउने भएकोले यसले कारोबार भएको २ दिनभित्र राफसाफ भइसक्नुपर्ने बुझाउँछ । अब २ दिनभित्र राफसाफ भइसकेर तेस्रो दिन बिक्रेताले भुक्तानी पाउने सह–प्रवक्ता केसीले जानकारी दिएका हुन् ।

यसअघि चौथो दिनमा भुक्तानी पाउने व्यवस्था थियो । पहिले चेकमार्फत् भुक्तानी हुने गरेकोमा चेक क्लियरिङका लागि समय लाग्ने भएकोले पैसा आउन एक हप्ता भन्दा बढी लाग्थ्यो । तर अहिले बिक्री गरिएको रकम अनिवार्य रुपमा बैंक खातामा जम्मा गरिदिनुपर्ने व्यवस्था गरेको छ ।