kp-oli-1522920753.jpg

कैलाली — प्रधानमन्त्री केपी शर्मा ओलीले आफु आजभन्दा ५० वर्ष अघि नै गणतन्त्रका लागि रोडमा उफ्रेको बताएका छन् । शुक्रबार कैलालीको धनगढीमा आफु पक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले ५० बर्षअघि नै गणतन्त्रका लागि लडेको बताएका हुन् । ‘५० वर्ष अघि गणतन्त्रका लागि रोडमा उफ्रने मै हो । त्यसक्रममा १४ वर्ष जेल नै बसेको छु’, ओलीको भनाई छ । उनले प्रचण्ड–माधव पक्षलाई भगौडाको संज्ञा दिँदै आगामी निर्वाचनमा १० सिट जितेर देखाउन चुनौती दिएका छन् ।

उनले काम लाग्छ की भनेर प्रचण्डलाई पार्टीमा ल्याएको र सुधार्न धेरै साबुन र पानी खर्च गर्दा पनि नसुध्रिएको आरोप लाएका छन् । उनले चुनाव रोक्न कसैले नसक्ने भन्दै चुनावमा लाग्न र आफुले हस्ताक्षर गरेर पठाएको उम्मेद्वारलाई जिताउन कार्यकर्तालाई सुझाव दिएका छन् । आफुले हस्ताक्षर गरेर पठाएको उम्मेद्वारलाई भोट हाले त्यसपछिको देशको विकास गर्ने जिम्मेवारी आफ्नो हुने दावी गरेका छन् । उनले प्रचण्ड माधव अहिले सडकमा गाली गलोजमा उत्रिएको आरोप समेत लगाए ।

पार्टी कमिटीको बैठकमा नआएर, सडककमा गएर, गाली गलोज गरेर, प्रचण्ड माधव पक्षका नेता कार्यकर्ता भनिएका मान्छेहरु हामीलाई गाली गलोज गरिरहेका छन् । तर हामीलाई गाली गलोज गर्ने फुर्सद छैन । हामीलाई देश बनाउनुछ, उद्योगहरु स्थापना गर्ने, रोजगारी सिर्जना गर्ने हाम्रो उदेश्य छ’ ओलीको भनाई छ ।