prachanda-madhav_hvdO4tCxIe.jpg

काठमाडौं — संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनमा उत्रिएको नेकपाका प्रचण्ड–माधव पक्षद्धारा आज शुक्रबार देशैभरका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र बुझाउँदैछ । केन्द्रीय संघर्ष समितिका सचिव डा. विजय पौडेलका अनुसार संसद भङ्ग गर्ने प्रधानमन्त्रीको निर्णयको विरोध गर्दै पुर्व घोषित कार्यक्रम अनुसार सबै जिल्लामार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउन लागिएको हो । विरोधपत्रका साथमा प्रधानमन्त्रीलाई संविधानको पुस्तकसमेत दिने र राष्ट्रका नाममा क्षमायाचनासहित गलत कदम सच्चाउन अनुरोध गरिनेछ । यसैबीच काठमाडौका प्रमुख जिल्लाअधिकारीलाई विरोधपत्र बुझाउनुअघि बबरमहलमा नेकपाका नेता कार्यकर्ता भेला भएर जुलुससहित काठमाडौँ जिल्ला प्रशासन कार्यालय जाने भएका छन् ।

गत पुस ५ गते सरकारले प्रतिनिधि सभा भङ्ग गर्दै आगामी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेको छ । तर सरकारको उक्त कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै सबै राजनीतक दल तथा नागरिक समाजका अगुवाहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले संसद पुन सञ्चालन नभएसम्म आन्दोलनलाई जारी राख्ने जनाएका छन् ।