bamdev23.jpg

काठमाडौं —राष्ट्रियसभा सदस्य वामदेव गौतमले राजीनामा दिएर भएपनि प्रधानमन्त्रीले पार्टी एकता जोगाउनुपर्नेमा संसद भङ्ग गरेको भन्दै प्रधानमन्त्रीको आलोचना गरेका छन् । संसद विघटनसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएका छन् । दुवै समूहमा नलागेका गौतमले बिहीबार राष्ट्रियसभा बैठकमा पार्टी विभाजनको कुनै औचित्य नभएको बताएका हुन् । उनले प्रधानमन्त्री ओलीको कार्यशैलीका कारण पनि पार्टीमा धेरै विवाद उत्पन्न भएकोे बताएका छन् । तर अविश्वासको प्रस्तावबाट आफ्नै पार्टीका नेतालाई पराजित गर्ने काम होला भनेर आफूले कहिल्यै नसोचेको गौतमले बताए । विगत ८/९ महिनादेखि मैले आलोचना गर्ने समूहमा बसेर पनि पार्टी एकता जोगाउन अविश्वासको प्रस्तावलाई असफल गराएको थिएँ,’ उनले अघि भने, ‘पार्टीमा आरोप प्रत्यारोप सहितका पत्रहरु राख्दा पनि मैले यो सुधारका निम्ति सम्भव उपाय हुनसक्छ भनेको थिएँ । तर यसपटक अविश्वासको प्रस्ताव लैजाँदा मलाई सोधिएन । ५ गते प्रस्ताव जान्छ भन्ने मलाई थाहा थिएन ।’

प्रधानमन्त्री ओलीले ‘अविश्वासको प्रस्तावबाट मलाई बर्खास्त गर्न खोजिए दुर्भाग्यपूर्ण हुनेछ’ भन्ने गरेको भएता पनि संसद भङ्ग गर्दा आफूलाई नसोधेको उनको गुनासो छ । मैले उहाँलाई सल्लाह दिएको थिएँ, पार्टीमा जब नेताहरु अल्पमतमा पर्छन्, प्रधानमन्त्री नै भएपनि राजीनामा दिनुपर्छ,’ उनले भने, ‘पार्टी जोगाउनका निम्ति अन्तिम पटक पनि उहाँसँग अवसर थियो । अविश्वासको प्रस्ताव लगिरहेका छन् भन्ने थाहा पाएपछि मैले सोचेँ, म त्यो ठाउँमा भएको भए अविश्वासको प्रस्ताव दर्ता गर्नुभन्दा पहिले नै राजीनामा दिन्थेँ । जसबाट बर्षौदेखिको मेहनत गरेर निर्माण गरेको पार्टी जोगिन्थ्र्यो र, एउटा उदाहरण प्रस्तुत हुन्थ्यो ।’ त्यही कारण आफूले संसद विघटनलाई सर्मथन नगरेको र असंवैधानिक कदम भनेको उनले बताएका छन् । यो मुद्दा संवैधानिक इजलासमा विचाराधीन भएकाले असंवैधानिक भन्नु सर्वोच्च अदालतको राजनीतिक रुपमा अपमान हुने भएकाले मौन बसेको दाबी गरेका छन् ।

मदन भण्डारीपछि जनताको बहुदलीय जनवाद (जबज)को व्याख्याता आफू भएको दाबी गर्दै गौतमले पार्टी राजनीतिक रुपमा विभाजित भएपनि कानूनी रुपमा के हुन्छ भन्न नसकिने अवस्था आएको बताएका छन् । नेकपाविरुद्ध परेको मुद्दा सर्वोच्चमा विचाराधीन रहेको भन्दै उनले अदालतले ऋषि कट्टेलको पक्षमा फैसला भए एउटा पक्ष नेकपा एमाले र माओवादी केन्द्र बन्न सक्ने अनुमान समेत गरका छन् । यद्यपि आफू फेरि पनि एकता गराउन सकिन्छ कि भनेर लागिरहेको भन्दै गौतमले भने, ‘एक्लै एकताको माहोल बनाउन सकिन्न कि भनेर संगठनात्मक संरचना निर्माण गर्ने पक्षमा छु ।’ तर दुवै समूहका मुख्य नेताहरु नै समाजवादी सभ्यता निर्माण गर्छौ भन्नेहरुलाई नै लाज लाग्ने गरी प्रस्तुत भएको गौतमले जानकारी दिएका छन् ।