Bidhut-pradhikaran-nepal.jpg

काठमाडौं -उपभोक्तालाई गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् उपलब्ध गराउन प्रसारण तथा वितरण लाइन र सबस्टेसन सुदृढीकरणका लागि चालिएका कदमबाट छिनछिनमा विद्युतीय लाइन जाने (ट्रिपिङ)को समस्या घट्दै गएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । नेपाल विद्युत प्राधिकरणको तथ्याङअनुसार, विद्युतको माग सबैभन्दा बढी हुने काठमाडौँ उपत्यकामा यस वर्षको मंसिरमा ३ सय ४७ पल्ट ट्रिपिङ भएको छ । काठमाडौँ उपत्यका र यस आसपासका जिल्लामा विद्युत् आपूर्ति गर्ने १४ वटा सबस्टेसनमा ट्रिपिङ हुँदा २२ घण्टा विद्युत अवरोध भएको छ । गत वर्षको मंसिरमा ५ सय ७७ पटक ट्रिपिङ भई ६५ घण्टा विद्युत आपूर्ति बन्द भएको थियो ।

प्रणालीमा माग अनुसार आपूर्तिका लागि पर्याप्त विद्युत रहेकाले घोषित र अघोषित रुपमा विद्युत कटौती (लोडसेडिङ) नगरिएको प्राधिकरणका कायम मुकायम (कामु) कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताएका छन् । शाक्यले सडक तथा खानेपानी पाइप विस्तारका कारण भूमिगत केवलमा क्षति पुग्ने, केही स्थानमा पोल तथा टान्सर्फमर सार्नु पर्ने लगायतका प्राविधिक कारणले त्यस आसपासका क्षेत्रमा केही समय विद्युत कटौती भएको हुनसक्ने बताएका छन् । अहिलेसम्मको डाटा हेर्दा गत वर्षको पुसमा भन्दा यस वर्ष ट्रिपिङ कम भएको देखिन्छ, विगतमा चालिएका सुधारबाट यस वर्ष र यस वर्ष गरिएका कामबाट अर्को वर्ष नतिजा देखिन्छ,’ उनले भने, ‘प्रणालीमा आउने प्राविधिक गडबडीले केहीबेर झ्याप्प बत्ति जाँदैमा उपभोक्ताले त्यसलाई लोडसेडिङ गर्यो भन्ने बुझेर डराउनु पर्ने जरुरी नै छैन, प्रणालीमा पर्याप्त विद्युत् छ, लोडसेडिङ हाम्रो इतिहास बनिसकेको छ ।’ उनले ट्रिपिङ बढी हुने सबस्टेसनको पहिचान गरी सुधार गर्न, त्यहाँको लोड अन्त सार्नेलगायतका काम निरन्तर भइरहेको बताएका छन् ।

स्थानीय रुपमा माग धान्न नसक्ने अवस्थामा (ओभरलोड) रहेका ट्रान्सफर्मर फेर्ने, विदाको दिन लाइन सुधार गर्ने र त्यसका लागि लाग्ने समय घटाउनेलगायतका काम गर्दै विद्युत् आपूर्तिमा सुधार गर्न अहोरात्र काम भइरहेको शाक्यले बताएका छन् । सडक विस्तार, खानेपानीको पाइप जडान, विद्युतका पोल सार्न, ट्रान्सफर्मर बदल्न, वितरण प्रणालीेको मर्मत सम्भारलगायतका काम गर्न विद्युत आपूर्ति बन्द गर्ने क्रम पनि घटेको छ । गत वर्षको मंसिरमा यी काम गर्न ४ सय ९१ पटक विद्युत आपूर्ति बन्द (सट डाउन) गरिएकोमा यस वर्ष ३ सय ६२ पटक मात्रै गरिएको छ । विद्युत आपूर्तिलाई विश्वसनीय र भरपर्दो बनाउन कन्डक्टर फेर्ने, ट्रिपिङको समस्या समाधान गर्न विद्युतको मागलाई ध्यान दिएर फिडर तथा ट्रान्सफर्मरको क्षमता बढाउने कामलाई उच्च प्राथमिकतामा राखी सोही अनुसार काम भइरहेको छ । मर्मत सम्भारमा लाग्ने समयलाई घटाएर जतिसक्दो छिट्टो विद्युत आपूर्ति नियमित गर्न प्राधिकरण क्रियाशील रहेको छ ।