bhim23.jpg

धनगढी— नेकपा ओली समूह सुदूरपश्चिम कमिटीले नेता भीम रावललाई कार्वाही गर्न पार्टी केन्द्रलाई सिफारिस गरेको छ । ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले रावललाई कार्वाही गर्न सिफारिस गरेको हो । प्रदेश इन्चार्ज लेखराज भट्टका अनुसार, रावलले आर्थिक हिनामिना गरेकाले कार्बाही गर्न सिफारिस गरिएको छ । भट्टका अनुसार– ‘उहाँलाई हामीले कार्वाही गर्न मिल्दैन, त्यसैले पार्टी केन्द्रलाई सिफारिस गरेका छौं ।’

नेकपा विभाजन अगाडि रावल सुदूरपश्चिम प्रदेश इन्चाज समेत थिए । तर, ओली समूहले रावललाई हटाएर आफ्नो समूहका नेता भट्टलाई इन्चार्ज तोकेको छ । उद्योग मन्त्री भट्टले इन्चार्जको भूमिका पाएपछि बसेको पहिलो बैठकले रावललाई कार्वाहीको सिफारिस गर्ने निर्णय गरेको हो । ओली समूहले रावलको इन्चार्जको जिम्मेवारी खोसे पनि अझै केन्द्रीय कमिटी सदस्यबाट हटाएको छैन । नेकपा प्रचण्ड–माधव समूहको सुदूरपश्चिम इन्चार्ज रावलले भने वैधानिक नेकपा आफूहरु भएकाले पार्टी कोषबारे सोधखोज गर्ने अधिकार अर्को समूहलाई नभएको बताउँदै आएका छन् ।