kasthamandap.jpg

काठमाडौँ – नेपालको राजधानी काठमाडौँको नाम ‘काष्ठमण्डप’बाट नै रहेको इतिहासमा उल्लेख छ । बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रुख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएको, सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिबिहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको विश्वास गरिन्छ ।

वि.स.२०७२ सालको भूकम्पले क्षति पुगेको काष्ठमण्डप पुनर्निर्माणको काम हालसम्म ८५ प्रतिशत सम्पन्न भएको छ । बाँकी काम पनि आगामी वैशाखसम्ममा पूरा गर्ने तयारी भैरहेको छ । त्यसका लागि आवश्यक पर्ने काठको अभाव भएकाले रौतहटबाट ल्याउने तयारी भएको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिएका छन् । आगामी वैशाखसम्ममा निर्माण सक्ने लक्ष्यअनुरूप काम भइरहेको उनले बताएका हुन् । भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनर्निर्माणका लागि तीन वर्षको समय निर्धारण गरिएको छ ।

उक्त ऐतिहासिक सम्पदा पुनर्निर्माणका लागि १९ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएकोमा काठमाडौँ महानगरपालिकाले पुनर्निर्माण समितिलाई पाँच करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग गरिसकेको छ । पुनर्निर्माणको लागि जम्मा १७ हजार ५८ घनफिट काठ आवश्यक पर्दछ । यस ऐतिहासिक सम्पदा पुनर्निर्माणका क्रममा आवश्यक पर्ने काठहरु अगाडिकै पुरानै प्रयोग भए पनि नयाँ केही काठ भने टिम्बर कर्पोरेसनसँग लिखित सम्झौता गरी ल्याइएको छ । यसअघि पनि आवश्यक पर्ने थप आठ हजार घनफिट काठ धनगढीबाट ल्याइएको थियो । निर्माणका क्रममा काठको अभाव भएपछि दुई हजार घनफिट काठ रौतहटबाट ल्याइने तयारी भएको हो । अपुग भएको काठ आगामी एक महिनाभित्रै ल्याउने तयारी भएको छ । छानाका लागि आठ हजार घनफिट काठ आवश्यक पर्ने भएता पनि अहिले थप दुई हजार घनफिट मात्रै ल्याउन लागिएको हो ।