amerika.jpg

अमेरिकी संसदमा भएको आक्रमण तथा झडपबारे विश्वका नेताहरुले निन्दा गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले संसद भवनमा प्रवेश गरेर हिंसात्मक गतिविधि गरी सदनको संयुक्त सत्रमा अवरोध गरेका थिए । जो बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्नबाट सांसदहरुलाई रोकी नतिजा उल्ट्याउने प्रयासमा ट्रम्पका समर्थक लागेका हुन् । सो क्रममा संसद भवनमा भएको गोली प्रहारबाट एक महिलाको मृत्यु भएको छ भने वासिङ्गटन सिटिमा कर्फ्यू लागेको छ । विश्वका नेताहरुले सो घटनाको निन्दा गर्दै अमेरिकी प्रजातन्त्रमा विश्वास रहेको उल्लेख गरेका छन् । उनीहरुले संसद भवनमा भएको आक्रमण डरलाग्दो र प्रजातन्त्रमाथिको आक्रमण रहेको बताएका छन् ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्टसले सदनमा भएको आक्रमण शर्मनाक भन्दै निन्दा गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘अमेरिकाको परिचय विश्वमा प्रजातान्त्रिक गतिविधिका लागि चिनिन्छ र अहिले सो कुरा अति महत्वपूर्ण भएको छ । सत्ताको शान्तिपूर्ण र नियमित हस्तान्तरण हुनु पर्छ ।’ यसैगरी बेलायतका विपक्षी नेता सन केइ स्टार्मरले पनि सो घटनाको निन्दा गरेका छन् । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले क्यानडियनहरु ‘प्रजातन्त्रमाथि भएको आक्रमण’ बाट गम्भीर रुपमा स्तब्ध भएको बताएका छन् । उनले ट्वीट गरेका छन्, ‘जनमतलाई ओझेलमा पार्न कहिल्यै पनि हिंसा सफल भएको छैन । अमेरिकी प्रजातन्त्र स्थापित हुनुपर्छ र हुनेछ ।’ न्यूजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले जनताले प्रजातान्त्रिक अधिकार प्रयोग गरी दिएको मतलाई भीडले कहिल्यै पनि हत्याउन नसक्ने भन्दै घटनाको निन्दा गरेका छन् ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले घटनाको निन्दा गर्दै सत्ताको शान्तिपूर्ण हस्तान्तरण हुने अपेक्षा रहेको बताएका छन् । यसैगरी स्पेनिस प्रधानमन्त्री पेद्रो सान्चेजले घटनाको निन्दा गरि अमेरिकी प्रजातन्त्रमा विश्वास रहेको र नयाँ राष्ट्रपति जो बाइडेनले अहिलेको अँध्यारो समयबाट देशलाई निकाल्ने विश्वास रहेको उल्लेख गरेका छन् । फ्रान्स, टर्की तथा जर्मनीका विदेश मन्त्री, नेटोका महासचिव तथा युरोपियन युनियन परिषदका अध्यक्षले पनि घटनाको निन्दा गरेका छन् ।