MinendraRijal.jpg

काठमाडौं – प्रतिपक्ष दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँग तुलना गरेका छन् । नेकपा प्रचण्ड–माधव समूहले बानेश्वरमा गरेको अन्तरपार्टी अन्तरक्रियात्मक कार्यक्रममा नेता रिजालले ज्ञानेन्द्र जस्तै ओली पनि छिट्टै बिदा हुने बताएका छन् । रिजालले भने—हिजो ज्ञानेन्द्र बिदा भए ,आज निर्वाचनबाट सत्तामा गएका ओली बिदा हुँदैछन् । नियम र कानुन मान्नु पर्दैन भन्नेहरु इतिहासमा कहिल्यै टिक्दैनन् । उनले संसारका निरङ्कुश शासकहरुमध्ये ओली पनि एक भएको बताएका छन् ।

वैशाखमा निर्वाचन गर्नकै निम्ति घोषणा नगरिएको रिजालले बताए । तर, उनी आफूलाई मन नपरेको संविधानको पाङ्ग्रा भत्काउन थालेको उनले दाबी गरेका छन् । उनले भनेका छन् —‘हिजो मन पथ्र्योे कि पर्थेन ,तर आज संविधानको पाङ्ग्रा भत्काउने काम सुरु भएको छ’, । संविधान निर्माणका बेला संसद विघटन गर्ने विशेषाधिकार प्रधानमन्त्रीलाई दिन नहुने अडान एमाले र माओवादीले नै लिएको रिजालले स्मरण गरे । दुई वटा कम्युनिस्ट पार्टीकै अडानले प्रधानमन्त्रीलाई केही न केही अधिकार दिनुपर्छ भन्ने कांग्रेस पनि सहमत भएको उनको भनाइ थियो । तर, संविधान निर्माणमा सहभागी नभएको जनता समाजवादी पार्टीका नेताहरु संविधानको पक्षमा उभिँदा ओली उल्टो बाटो हिँडेकोमा उनले आश्चार्य प्रकट गरे । रिजालले व्यक्ति नभएर प्रवृति भएको बताए, ‘व्यक्ति मात्रै नभएर केपी ओली एउटा प्रवृत्ति हो । यो प्रवृत्ति सदाका लागि कसरी अन्त्य गर्ने भन्ने हो ।’