-Central_library.jpg

कोभिड महामारीका कारण अन्य क्षेत्र बन्दै रहेता पनि त्रिवि केन्द्रीय पुस्तकालयल भने सुचारु रह्यो । पुस्तकालयभित्र र पुस्तकालयको भवनसँगै रहेको अध्ययन कक्ष बन्द गरेको त्रिवि केन्द्रीय पुस्तकालयले लकडाउनमा पनि पुस्तक लैजाने र फिर्ता गर्ने सेवालाई भने बन्द गरेको थिएन । तर पुस्तकालय परिसरमा बसेर पढ्न नपाएपछि विद्यार्थीहरुले यसको प्रत्यक्ष असर ब्यहोर्नु परेको थियो । सरकारले खुला गर्ने निर्णय नगरेको भए पनि माघ पहिलो सातादेखि त्रिवि केन्द्रीय पुस्तकालय खोल्ने तयारी त्रिवि व्यवस्थापनले गरेको थियो ।

पुस्तकालय प्रमुख पूर्णलाल श्रेष्ठ लामो समयसम्म सरकारको बाटो हेरेर बसेपनि सरकारले पुस्तकालयलाई कम प्राथमिकतामा राखेको बताउँछन् । त्रिवि पुस्तकालय निजामती सेवामा प्रवेश गर्न चाहनेदेखि विभिन्न लेखक र अध्येताहरूको प्रमुख गन्तव्य हो । ४ लाख ४० हजार पुस्तक, ६ लाख थेसिस र ७ लाख अन्तर्राष्ट्रिय जर्नल रहेको पुस्तकालयमा बिहान ४ बजेदेखि साँझ ८ बजेसम्म विद्यार्थीहरुको भिड हुने गर्छ ।

अहिले एकातिर पुस्तकालय खोल्न विद्यार्थीहरूबाट आउने दबाब र अर्काेतिर सरकारी नीतिको चपेटामा केन्द्रीय पुस्तकालय परेको पुस्तकालय प्रमुख श्रेष्ठ बताउँछन् । उनि भन्छन् — ‘माघदेखि सरकारले अनुमति नदिए पनि पुस्तकालयमा विद्यार्थीलाई प्रवेश खुला गर्ने तयारीमा छौं, विद्यार्थीको तीव्र दबाबका कारण हामीले बाध्य भएर गत सातादेखि प्राङ्गणमा रहेको अध्ययन कक्ष खुला ग¥यौं । सम्भवत माघको पहिलो सातादेखि नै पुस्तकालय खुल्छ होला ।’

एउटा कोठामा ५० जनाको दरमा तीनवटा कोठा रहेको अध्ययन कक्ष पुस्तकालयले नै निर्माण गरेको संरचना हो । १ सय ५० जना मात्रै अट्ने सो अध्ययन कक्षमा सिट पाउनकै लागि कैयौं विद्यार्थी बिहानै आएर केन्द्रीय पुस्तकालय बाहिर प्रतीक्षारत रहने गर्दछन । विद्यार्थीकै दबाबका कारण गत सातादेखि सो अध्ययन कक्ष खुला गरिएको छ । तर पुस्तकालयभित्र जान पनि माघदेखि खुला गर्ने तयारी रहेको पुस्तकालयका प्रमुखले जानकारी दिएका छन् ।