Covid-19-originated-at-a-market-in-Wuhan.jpg

कोरोना भाइरसको उद्गम स्थलबारे वुहानमा अध्ययन गर्न विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले तय गरेको टिमलाई चीन प्रवेश गर्न दिइएको छैन । चीनले सो टोलीलाई प्रवेशमा रोक लगाएको हो । डब्लुएचओको टिममा रहेका दुई सदस्य यसअघि नै चीनका लागि प्रस्थान गरेका थिए । एकजना प्रवेश नपाएपछि फर्किएका छन् भने अर्का एकजना तेस्रो मुलुकमा ‘ट्रान्जिट’ मा छन् । भिसामा समस्या देखिएका कारण प्रवेशमा समस्या भएको डब्लुएचओले जनाएको छ ।

अध्ययनबारे लामो वार्तापछि बेइजिङ्ग र डब्लुएचओबिच सहमति भएको थियो । कोरोना भाइरसको उद्गमस्थल वुहानको मासु बजारबाट कोरोना भाइरसले जनावरबाट मानिसमा सङ्क्रमणको क्रम थालेको विश्वास गरिन्छ । तर त्यसबारे स्पष्ट हुन डब्लुएचओले विज्ञसहितको अनुसन्धान टोली बनाएको छ । सन् २०१९ को अन्त्यमा वुहानमा पहिलोपटक कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो ।

चीनले अहिलेसम्म पनि अध्ययन टोलीको आगमन प्रक्रियालाई पूर्णता नदिएको विषयले गम्भीर रुपमा निराश बनाएको डब्लुएचओका प्रमुखले बताएका छन् । चीनले आन्तरिक प्रक्रिया तीव्र रुपमा पूरा गरेर टिमको प्रवेश चाँडै सुनिश्चित हुने आश्वासन पाएको उनले बताएका छन् । अध्ययनका लागि डब्लुएचओले १० सदस्यीय अन्तर्राष्ट्रिय विज्ञहरुलाई चीन पठाउने तयारी गरेको छ । गएको महिना जनवरी २०२१ देखि अध्ययन सुरु हुने घोषणा गरिएको थियो ।