Domestic-services-_20200323095235.jpg

काठमाडौं – हिजोदेखि देशभरको मौसममा बदली भएको छ । बादल, बाक्लो हुस्सु र तुवाँलोको कारण कतिपय स्थानमा हवाई उडान पनि अवरुद्ध हुन पुगेको छ । काठमाडौं उत्पत्यकालगायत देशका विभिन्न भागमा बादल, बाक्लो हुस्सु र तुवाँलोको लागेको छ । हिजो बिहान पनि सबैजसो विमानस्थलमा उडान प्रभावित भएको थियो भने आज मङ्गलबार पनि बिहानैदेखि अहिलेसम्म तराईका विमानस्थलहरु सञ्चालन हुन सकेका छैनन् ।

अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल कार्यालयका कायम मुकायम महाप्रवन्धक देवचन्द्रलाल कर्णले बताएअनुसार विराटनगर, जनकपुर र भैरहवा विमानस्थलमा भिजिविलिटी कम भएका कारण जहाजको उडान र अवतरण ठप्प छ । अन्य विमानस्थलमा भने उडान सुचारु भइरहेको छ । काठमाडौं विमानस्थलमा भने हिजो र आज साविकमा जस्तै उडान अवतरण भैरहका छन् । काठमाडौंमा सामान्यतया १ हजार मिटरसम्म भिजिबिलिटी भए जहाज उडाउन र अवतरण गर्न सकिने महाप्रवन्धक कर्णले बताउनु भयो ।

आज भिजिविलिटी राम्रो भएका कारण त्रिभुवन विमानस्थलबाट हुने उडान–अवतरणमा भने कुनै समस्य नरहेको महाप्रवन्धक कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार नियमित तालिका अनुसार अन्तर्राष्ट्रिय उडान समेत भइरहेको छ । त्रिभुवन विमानस्थल कार्यालयले जनाए अनुसार आज दुवई, दोहा र हङकङबाट नेपाल वायुसेवा निगम, दोहाबाट कतार एयरवेज, दिल्लीबाट एयर इण्डिया, दमामबाट हिमालय एयरलाइन्सका जहाजहरु अवतरण भएका छन् । आजपनि देशको मौसममा बदली हुने मौसम विभागले जनाएको छ ।