nepal-army-pad-yatra.jpg

राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा गोरखा—काठमाडौं एकीकरणलाई जगेर्ना गर्न नेपाली सेनाले पदयात्रा सुरु गरेको छ । आज पौष २१ गते मङ्गलबारका दिनदेखि गोरखा दरबारको हनुमान भञ्ज्याङबाट यात्रा सुरु भएको हो । सह सेनानी दल बहादुर थापाको नेतृत्वमा ४० जनाको टोली पदयात्रामा सहभागी भएका छन् । नेपालको राष्ट्रिय झण्डा, टर्च र नेपाली सेनाका प्रथम पाँच कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्द बहादुर र सवुज) का झण्डाहरु लिएर पृथ्वी नारायण शाहकालीन पोशाकमा बाजागाजा सहित नेपाली सेनाको टोली यात्रामा निस्किएको छ ।

गोरखा दरबारबाट सुरु भएको यात्रा धादिङ, नुवाकोट हुँदै पौष २७ गते काठमाडौं पुग्ने जानकारी दिएका छन् । ‘आज यो टोली गोरखा नगरपालिकाको ताप्ले, भीमसेन थापा गाउँपालिकाको अश्राङ, बोर्लाङ हुँदै बुंकोटघाट पुगेर धादिङको देविदत्त गणलाई टर्च र झण्डा बुझाएर फर्कन्छ,’ गणपती केसीका अनुसार, ‘त्यो टोलीले नुवाकोटको जबरजंग गणलाई बुझाउँछ र काठमाडौंको पल्टनलाई बुझाउन नुवाकोटको टोली पुस २६ गते काठमाडौं पुग्छ ।’ टर्च र झण्डासहित काठमाडौंको पल्टन पुस २७ गते पृथ्वी जयन्तीको दिन सिंहदरबार अगाडि हुने कार्यक्रममा सहभागी हुनेछ ।

पदमार्ग, कोट, गढी र किल्लाहरु सम्वर्द्धन तथा प्रवर्द्धन गर्ने नेपाली सेनाको विशेष कार्यक्रम अन्तर्गत पदयात्रा गरिएको उनले जानकारी दिएका छन् । ‘राज्य एकीकरणको क्रममा पृथ्वी नारायण शाहले प्रयोग गरेको मार्गलाई एकीकरण मार्गको रुपमा विकास गर्न अघिल्लो वर्षबाट पदयात्रा सुरु गरेका हौं, उक्त मार्गको दुरी २६ कोष रहेको छ, बर्सेनि यसलाई निरन्तरता दिने छौं,’ केसीले भने । पदयात्रामा सहभागी टोलीलाई मङ्गलबार एक कार्यक्रमकाबीच टर्च र नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, गोरखा नगरपालिका प्रमुख राजनराज पन्त र नेपाली सेनाका पृतनापति विनय विक्रम राणाले संयुक्त रुपमा सह सेनानी दल बहादुर थापालाई टर्च र झण्डा हस्तान्तरण गरेका हुन् । पृतनापति राणाले राष्ट्रिय एकताको सन्देशका लागि पनि पदयात्रा गरिएको बताए । पदमार्ग, कोट, गढी र किल्लाहरु सम्वर्द्धन, संरक्षण तथा प्रवर्द्धन गर्ने सेनाको विशेष कार्यक्रम रहेको बताउादै उनले इतिहास सम्बर्द्धनको कार्यमा सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।