Us president.jpg

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पराजयलाई अझै स्वीकार गर्न सकेका छैनन् । अमेरिकास्थित जर्जिया राज्यको एक उच्च निर्वाचन अधिकारी ब्राड राफेनस्पगरले राष्ट्रपति ट्रम्पले स्पष्ट रुपमा झुट बोलेको बताएका छन् ।राष्ट्रपति ट्रम्पले जर्जियामा आफू विजयी भएको दाबी गर्दै आएका छन् । हार स्वीकार नगरेका ट्रम्पले टेलिफोन संवादमा नोभेम्बर ३ मा भएको चुनावको नतिजा उल्ट्याउनका लागि आवश्यक मत ‘खोज्न’ उच्च निर्वाचन अधिकारी राफेनस्पगरलाई ‘आदेश’ दिएका थिए । राष्ट्रपति ट्रम्पले ब्राड राफेनस्पगरलाई टेलिफोन संवादमार्फत् आफ्नो जित प्रमाणित गर्नका लागि चाहिने ११ हजार ७८० मत खोज्न दबाब दिएका छन् ।

यति राफेनस्पगरले भने ट्रम्पको सबै दाबी स्पष्ट रुपमा झुट रहेको बताएका छन् । जर्जियाको निर्वाचन जिम्मेवारी सम्हालेका सेक्रेटरी अफ स्टेट ब्राड राफेनस्पगरसँगको टेलिफोन संवाद बाहिरिएपछि ट्रम्पको चर्को आलोचना भएको छ । राष्ट्रपति ट्रम्पले नतिजा आफ्नो पक्षमा उल्ट्याउनका लागि दिएको दवालले जर्जियाका दुई सिनेट रनअफ चुनावमा आफू विरुद्ध काम गर्ने डर केही रिपब्लिकनहरुमा देखिएको छ । जर्जियामा आज सिनेटका दुई सिटका लागि रनअफ चुनाव हुँदैछ । माथिल्लो सदन सिनेटको शक्ति सन्तुलनका लागि यो चुनावलाई निकै महत्वपूर्ण मानिएको छ । दुवै सिटमा जित निकाले डेमोक्र्याटले सिनेटमा पकड कायम गर्न सक्ने छन् । अन्यथा डेमोक्र्याटले आफ्नो पकड गुमाउन सक्नेछ ।