anarasou.jpg

काठमाडौं — नेकपा प्रचण्ड–माधव समूह सम्बद्ध अनेरास्ववियूले संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । बागबजारस्थित अनेरास्ववियू कार्यालयमा बसेको बैठकले यही पुस २१ गतेदेखि २९ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । आन्दोलनका कार्यक्रमअनुसार आज सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउने र प्रत्येक कलेजमा कालो ब्यानर राखेर विरोध प्रदर्शन गर्ने अनेरास्ववियूका एक नेताले जानकारी दिएका छन् ।

पुस २३ गते देशभर प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउने र २४ गते सिडियो कार्यालयमा ज्ञापनपत्र बुझाउँदै धर्ना दिने कार्यक्रम तय गरिएको छ । पुस २५ गते संसद विघटनको कदमविरुद्ध सडक बहस कार्यक्रम गर्ने, २६ गते बयलगाडा प्रदर्शन गर्ने र २७ गते प्रतिगमनको विरुद्ध सडक कविता, गीत र गजल कार्यक्रम गर्ने तय गरिएको छ । तेस्रो चरणको आन्दोलनका कार्यक्रम भने माघ १ गते सार्वजनिक गरिने अनेरास्ववियूले जनाएको छ ।