sahakari.jpg

काठमाडौं – देशभरका सहकारी संस्थामा ७३ लाख भन्दा धेरै मानिस आवद्ध भएका छन् । सहकारी विभागले हालै देशभरका सहकारीबारे सङ्कलन गरेको तथ्याङ्कअनुसार सहकारी संस्थामा ७३ लाख ७ हजार ४ सय ६२ जना आवद्ध भएका छन् । जसमा ५६ प्रतिशत महिला र ४४ प्रतिशत पुरुष सदस्य छन् । विभागले २०७७ साउनदेखि कात्तिकसम्म सातै प्रदेशको स्थानीय तहहरुको सहकार्यमा गरेको अध्ययन अनुसार देशभर २९ हजार ८ सय ८६ वटा सहकारी संस्था रहेका छन् ।

त्यस्तै २० वटा विषयगत सहकारीका केन्द्रीय सङ्घ, एउटा राष्ट्रिय सहकारी बैंक, एउटा राष्ट्रिय सहकारी महासङ्घ, ७० वटा जिल्ला सहकारी सङ्घ र २ सय ४१ वटा विषयगत जिल्ला सहकारी सङ्घहरू क्रियाशील रहेका छन् । देशभरका सहकारीमा कुल शेयर पूँजी ९४ अर्ब १० करोड ५० लाख रहेको छ भने ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ वचत रहेको छ ।

सहकारीले ४ खर्ब २६ अर्ब २६ करोड २३ लाख रुपैयाँ लगानी गरेका छन् । सहकारीले मुलुकभर ८८ हजार ३ सय ९ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेका उपरजिस्टार सुरेन्द्रराज पौडेलले जानकारी दिनुभयो । सहकारी विभागले उक्त प्रतिवेदन अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारीलाई बुझाएको छ ।