babies-born-in-2020.jpg

दक्षिण कोरियामा गएको वर्ष जन्म भन्दा मृत्यु धेरै भएको छ । इतिहासमै पहिलोपटक सन् २०२० मा दक्षिण कोरियामा जन्मिनेको भन्दा मृत्यु हुनेको सङ्ख्या धेरै हुँदा चिन्ता थपिएको हो । विश्वमै कम जन्मदर रहेको दक्षिण कोरियामा सन् २०२० को तथ्याङ्कले जनसङ्ख्या वृद्धि नकारात्मक हुने देखिएको हो । गएको वर्ष दुई लाख ७५ हजार ८ सय बालबालिका जन्मिए, जुन अघिल्लो वर्षको तुलनामा १० प्रतिशत कम हो ।

गत वर्ष ३ लाख ७ हजार ७ सय ६४ जनाको ज्यान गएको छ । दक्षिण कोरियाको आन्तरिक मामिला मन्त्रालयले जनसङ्ख्या सम्बन्धी नीतिमा ‘आधारभूत परिवर्तन’ गर्न बाध्य भएको छ । घट्दो जनसङ्ख्या दक्षिण कोरियाका लागि गम्भीर तनावको विषय बनेको छ । स्वास्थ्य सेवा र पेनसन लिनेको सङ्ख्या बढ्दै जाँदा सरकारले सार्वजनिक खर्च बढाएको छ ।

यस्तै युवा जनसङ्ख्या कम हुँदा श्रमबजारमा काम गर्नेहरुको अभावले अर्थतन्त्रमा सीधा असर गरेको छ । गएको महिना राष्ट्रपति मून जे–इनले न्यून जन्मदरलाई उकास्नका लागि विभिन्न नीतिहरु सार्वजनिक गरेका थिए, जसमा बच्चा जन्माउने परिवारलाई आर्थिक सहायता प्रदान गर्ने व्यवस्था पनि छ । नयाँ नीति अनुसार सन् २०२२ देखि जन्मिने हरेका बच्चाको स्याहारका लागि परिवारलाई १ हजार ८ सय ५० अमेरिकी डलर (२० लाख कोरियन वन) प्रदान गरिने छ । यस्तै बच्चा एक वर्षको पुग्ने बेलासम्म मासिक ३ लाख कोरियन वन पनि प्रदान गरिने छ । सन् २०२५ देखि सो मासिक भत्ता ५ लाख वन बनाइने पनि जनाइएको छ ।