Sita-dahal-with-prachanda-airport.jpg

काठमाडौं – नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई थप उपचार गर्न आज भारतको मुम्बई लगिएको छ । नेपाल एयरलाइन्सको बिहान ११ बजेको उडानबाट दाहाललाई मुम्बई लगिएको हो । सीतासँगै अध्यक्ष प्रचण्ड र छोरी गङ्गा दाहाल पनि मुम्बई गएका छन् । सीताको उपचार न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्सटिच्युटमा हुने छ । उनलाई सो अस्पतालका डाइरेक्टर तथा कन्सलट्यान्ट न्यूरो सर्जन डा. आलोक शर्माको टोलीले उपचार गर्ने प्रचण्डका प्रेस सल्लाहका विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए ।

सीता दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् । त्यसलाई ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ भनिन्छ । पछिल्लो समयमा भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गरी घरमै आराम गरिरहेकी दाहाललाई आज मुम्बई लगिएको हो । सीतालाई यसअघि अमेरिका, सिङ्गापुर र भारतमा लगेर उपचार गराइएको थियो ।