Humla-Himpat-900.jpg

काठमाडौं – हुम्लामा भारी हिमपात भएको छ । आइतबार साँझदेखि हिमपात भएपछि विमान सेवासमेत अवरुद्ध भएको छ । उडान रोकिएपछि सिमकोटबाट नेपालगञ्ज, सुर्खेत, काठमाडौं लगायतका स्थानमा जाने तयारी गरेका यात्रुहरू हुम्लामै रोकिन बाध्य भएका छन् ।

तारा एयरका जहाज आइतबारदेखि नै सिमकोट विमानस्थलमै थन्किएका छन् । एउटा जहाजको ब्याट्रीमा समस्या देखिएपछि मर्मत गर्न अर्काे जहाजमा प्राविधिक टोली आएको थियो । मर्मत गरी फर्कने बेला मौसम खराब भएपछि उडान रोकिएको सिमकोट विमानस्थलका प्रमुख विष्णु अधिकारीले जानकारी दिए ।

पश्चिमी वायुको प्रभावसँगै उच्च पहाडी र हिमाली जिल्लाहरुमा हिमपात भइरहेको छ । हुम्ला सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका जाने नारा लेख, लिमि जाने न्यालु लेख लगायतका स्थान हिउँले ढाकिएर सेताम्य भएका छन् ।