melamchi photo.jpg

चौतारा – बहुप्रतिक्षित राष्ट्रिय गौरबको मेलम्ची खानेपानी आयोजनाको पानी आगामी चैतसम्ममा राजधानीमा आउने भएको छ । गत असारमा सुरुङको ढोका एक्का भत्किएपछि सुन्दरिजलमा पानी खसाल्ने काम रोकिएको थियो । सुरुङको काम ९९ प्रतिशत सम्पन्न भए पनि विभिन्न चरणको प्राविधिक परीक्षण गर्न समय लाग्ने भएकोले चैत अन्तिमसम्म पानी राजधानी पुग्ने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

चारजना जर्मन प्राविधिक टोलीले आयोजनाको निरीक्षण गर्नुको साथै डिजाइन तथा सम्पूर्ण रिपोर्टमा समेत अध्ययन गरी सकेकोले अब अन्तिम प्रतिवेदन बुझाउन बाँकी छ ।उक्त प्राविधिक टोलीले प्रतिवेदन बुझाएपछि त्यसलाई नेपाली प्राविधिज्ञ र ठेकेदार कम्पनीबीच छलफल भएपछि मात्र सुरुङमा पानी भर्ने कार्यक्रम रहेको छ । सुरुङ्गमा पानी भरेपछि पनि दुई महिनाको समय लाग्ने र सबै कुरामा सन्तोषजनक देखिएपछि मात्र राजधानी पठाइने हुँदा चैतसम्मको समय लाग्ने आयोजनाले जनाएको छ । गत असारमा सुरुङ्गको मुख्य ढोका फुटेका फुटेर एक जना इन्जिनियर र एक जना सवारी चालकको निधन भएको थियो । अहिले भारतीय कम्पनीबाट दुईवटा ढोका जडान भइसकेको हुँदा सुरुङको ९९ प्रतिशत काम सम्पन्न भएको छ ।

हेलम्बुको अम्बाथानस्थित मुहानमा हेडबक्र्स (बाँध)को काम भने ९० प्रतिशत मात्र सम्पन्न भएको छ । बाँधको साथै पुलसमेत बनाउनुपर्ने भएकाले समय लाग्ने आयोजनाले जनाएको छ । एसियाली विकास बैंक एडीबीको ऋण सहयोगमा करिब रु ३३ अर्ब लाग्ने आयोजनाको जटिल मानिने २७ किलोमिटर सुरुङ तीन वर्षअघि सम्पन्न भइसकेको छ । दैनिक १७ करोड लिटर पानी राजधानी पु¥याईने उक्त आयोजना पटकपटक पछि धकेलिँदै विभिन्न व्यवधान पार गरी अब भने सम्पन्नको अन्तिम चरणमा पुगेको छ।

आयोजनाको दोस्रो चरणको दैनिक १७ करोड लिटरको लार्केको काम पनि अघि बढाइएको आयोजनाले जनाएको छ । दैनिक १७ करोड लिटरको तेस्रो चरणको माङ्ग्रीको काम सम्पन्न भएपछि राजधानीमा दैनिक ५४ करोड लिटर पानी पु¥याइने लक्ष्य रहेको छ ।