rastriya-sabha+2077.jpg

काठमाडौं । सङ्घीय संसद्को उपल्लो सदन राष्ट्रियसभाको हिउँदे अधिवेशन आजबाट सुरु भएको छ । केही समय अघिमात्र सुरु भएको उक्त अधिवेशनमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनु भएको थियो । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बैठक केही बेरअघि सुरु भएको छ । बैठकमा विभिन्न दलका नेताहरुले समेत सम्बोधन गर्नु भएको थियो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी पहिलो संशोधन अध्यादेश, गृहमन्त्री रामबहादुर थापा बादलले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन, नेपाल प्रहरी र प्रदेश प्रहरी पहिलो संशोधन तथा सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश पेस गर्ने कार्यसूची रहेको छ ।

यसैगरी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले औषधि तेस्रो संशोधन एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ पेस गर्ने पनि संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले हिउँदे अधिवेशन शुक्रबारका लागि आह्वान गर्नुभएको थियो ।