Gadi-agajani.jpg

काठमाडौं –कर्णाली प्रदेशसभाको अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेश सिंह चढ्ने गाडीमा राति जाजरकोटको भेरी नगरपालिका–७ पुन्म गाउँमा पार्किङ गरेको अवस्थामा आगजानी गरिएको प्रहरीले जनाएको छ । सिंह चढ्ने कर्णाली प्रदेश ००१ झ ००४० नम्बरको सरकारी गाडी सडक छेउमा पार्किङ गरेको अवस्थामा राति १० बजे अज्ञात समूहले गाडी जलाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी किशोर श्रेष्ठले जानकारी दिए ।

‘ गाडीमा आगो लगाइयो कि लाग्यो भन्ने अझै खुलेको छैन,’ डीएसपी श्रेष्ठले भने, ‘आगो लागेपछि मात्र थाहा भएको स्थानीयले बताएका छन् । हामी अनुसन्धानकै क्रममा छौं ।’ डीएसपी श्रेष्ठका अनुसार गाडीमा एक्कासी आगो लागेको देखेपछि सभापति सिंह र सुरक्षा टोलीलाई स्थानीयले जानकारी गराएका थिए । आगलागीबाट गाडी पूर्ण रुपमा क्षति भएको छ । भेरी नगरपालिका–७ का अध्यक्ष चन्द्रबहादुर शाहीको घर नजिकै गाडी राखेर अध्यक्ष सिंह त्यहाँ बास बसेका थिए । उनी योजना अनुगमनको क्रममा त्यहाँ गएको प्रहरीले जनाएको छ ।