निर्वाचन-आयोग.jpg

काठमाडौं– विघटित संसद्को मध्यावधी निर्वाचनका लागि निर्वाचन आयोगले आफ्नो काम सुरु गरेको छ । मतदाताहरुको अन्तिम नामावली तयार गर्न आगामी माघ १५ देखि २१ गतेसम्म देशका सबै स्थानीय तहको केन्द्रमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्न लागेको हो । आयोगका अनुसार निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्ने विषयमा यही पुस ५ गते १८ वर्ष उमेर पुग्ने व्यक्तिको मतदाता नामावली अद्यावधिक गरिने छ । मतदाता नामावली ऐन, २०७३ अनुसार निर्वाचनको मिति घोषणा भइसकेपछि निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने नगरिने व्यवस्था अनुरुप पुस ६ गतेदेखि मतदाता नामावली दर्ता स्थगन गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नवसञ्चार अनलाइनलाई बताउनु भयो ।

पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि आगामी बैशाख १७ गते र २७ गते गरी दुई चरणमा सङ्घीय संसदका सदस्यको निर्वाचन हुने मिति घोषणा थियो । यसैअनुरुप निर्वाचन आयोगले आफ्नो काम अघि बढाएको हो । आयोगले उक्त कार्यक्रम सञ्चालनको अवधिभित्र सम्बन्धित स्थानीय तहको केन्द्रमा गइ मतदाता नामावलीमा समावेश भएको आफ्नो विवरणमा रहेको त्रुटि सच्याउन निवेदन दिन तथा मृत्यु भएका वा बसाइँ सरी गएका वा दोहोरो नाम रहेका मतदाताको नाम हटाउनका लागि सूचना दिन सबैमा अनुरोध गरेको छ ।