kp-sharma-oli Photo.jpg

काठमाडौं — अङ्ग्रेजी नयाँ वर्ष सन् २०२१ को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्षमा समृद्धिका पाइला थप उचाइमा पुग्ने दावी गर्नु भएको छ । विकास र समृद्धिका लागि बसालेको जग अझ देखिने गरी थप उचाइमा पुग्ने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले ‘मुलुक र जनताको दीर्घकालीन हितका निम्ति हामीले अगाडि बढाएका पाइलालाई गन्तब्यतर्फ थप गतिशील बनाएका छौं । मुलुकको समृद्धिका निम्ति हाम्रा पाइला आगामी वर्षमा अझ दृढतापूर्वक उचाइमा पुग्नेछन् भन्ने म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु’ भन्नुभएको छ ।

राष्ट्रिय आकाङ्क्षा पूरा गर्न संविधानको प्रभावकारी कार्यान्वयन, सामाजिक जागरण र उत्थानका कामहरूलाई प्रभावकारी रुपमा अघि बढाउँदै सुशासन र विकासको बाटोबाट अघि बढ्ने भन्दै प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सुस्थीर राजनीति अपरिहार्य रहेको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले ‘मुलुक निर्माणको प्राथमिकताबाट विमुख ब्यक्तिहरूका निजी आकाङ्क्षाहरूले सिर्जना गरेका अवरोधहरूलाई छिचोल्दै राष्ट्रको साझा आकांक्षा पूरा गर्ने बाटोमा हामी अविचलित भै निष्ठाका साथ अघि बढिरहेका छौं,’ भन्नुभएको छ । इश्वी सम्बत्को नयाँ वर्ष प्रारम्भको अवसरमा प्रधानमन्त्री ओलीले शुभकामना मन्तव्य दिंदै ‘भौगोलिक अखण्डता र राष्ट्रिय हितहरूको रक्षा एवं राष्ट्रिय स्वाभिमानलाई माथि उठाउने अभियानमा सम्पूर्ण पेसा, क्षेत्र, वर्ग र समुदायको साथ पाउने अपेक्षा गरेको छु’ भन्ने धारणा व्यक्त गर्नु भएको छ ।