2021 new year photo.jpg

काठमाडौँ – आजबाट अङ्ग्रेजी नयाँ वर्ष अर्थात् ईश्वी सम्बत २०२१ सुरु भएको छ । ग्रेगोरियन पात्रो जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वतको सुरुवात भएको भनिन्छ । ग्रेगोरियनले जुलियन पात्रो अनुसारको सम्बत्लाई विस्थापित गरी अहिलेको इश्वी सम्बत् प्रचलनमा ल्याएका हुन् भन्ने गरिन्छ । अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।

जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । पूर्व प्रशासक एवम ज्योतिषाचार्य डा. खिलानाथ बस्ताकोटीका अनुसार विवादकै कारण यो पात्रो रसियाले २ सय वर्षपछि मात्र प्रचलनमा ल्याएको हो । विवाद भए पनि उपनिवेशकालमा विभिन्न मुलुकमा लादेकाले अहिले यो सम्बत् विश्वव्यापी बनेको छ । पहिल्लो समयमा नेपालमा कृश्चियन समुदायको सङ्ख्या बढेसँगै नेपालमा अङ्ग्रेजी नयाँ वर्ष धुमधामसँग मनाउन थालेको पाइन्छ । विशेष गरी अझ युवायुवती अङ्ग्रेजी नयाँ वर्ष हर्ष र उमङ्गका साथ मनाउने गरेका छन् ।

काठमाडौँको ठमेल, बौद्ध, पोखरा, चितवनको सौराहालगायतका विभिन्न स्थानमा ‘न्यू इयर इभ’ का नाममा यो सम्बत मनाउँदै आएका छन् । यो वर्ष भने कोरोना भाइरसको कहरका कारण विगतमा जस्तो रौनक पाएन क्रिस्मस र नयाँ वर्षले । तर पनि हिजो पर्यटकको केन्द्रविन्दु मानिएको काठमाडौंको ठमेलमा कोरोना महामारीको पर्वाह नगरी मध्यरातमा अङ्ग्रेजी नयाँ वर्षलाई स्वागत गर्न नेपाली युवायुवतीहरुको ठूलो जमघट देखियो ।