काठमाडौं –कविता जोशीले ह्याट्रिकसँगै उत्कृष्ट बलिङ गरेपछि सुदूर पश्चिम प्रदेश दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । समूह ’बी’ मा रहेको सुदूर पश्चिम सेमिफाइनल पुग्ने क्रममा बिहिबार बागमती प्रदेशलाई २८ रनले हरायो । खेलमा सुदूर पश्चिमले दिएको ७७ रनको विजयी लक्ष्यलाई पछ्याएको बागमती निर्धारित ११ ओभर पूरै खेल्दै ९ विकेट गुमाएर ४८ रनमा सिमित हुन् पुग्दा सुदूर पश्चिम सेमिफाइनलमा पुग्न प्रयाप्त भयो । ब्याटिङमा बागमतीका लागि ओपनर सुमन खतिवडाले सर्वाधिक २७ रन बनाउनुबाहेक अन्य खेलाडीहरुले दोहोरो अंक जोड्न सकेनन् ।
बागमतीको ब्याटिङ ध्वस्त पार्ने क्रममा सुदूर पश्चिमकी कविता जोशीले सानदार बलिङ प्रस्तुत गरिन् । उनले जारी प्रतियोगिताको पहिलो ह्याट्रिकसहित ५ विकेट हात पारिन् । आफ्नो स्पेलको २ ओभर बलिङ गरेकी उनले मात्र १० रन खर्चिएर उक्त विकेट हात पारेकी थिइन् । यस्तै टोलीका लागि कविता कुवँर , रितु कनौजिया र लक्ष्मी साउदले पनि १–१ विकेट लिएका थिए । त्यसअघि खराब मौसमका कारण ११ ओभरमा घटाईएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूर पश्चिमले निर्धारित पूरै ओभर खेल्दै ४ विकेट गुमाएर ७६ रन बनाएको थियो । टिमले उक्त योगफल बनाउने क्रममा डली भट्टले आक्रमक ब्याटिङ गरिन् । अविजित रहेकी उनले मात्र १४ बलको सामना गर्दै २ चौका र २ छ्क्कासहित २८ रनको योगदान गरिन् ।
यस्तै टोलीका लागि ओपनर कविता कुवँरले पनि अविजित रहदै १९ रन बनाएकी थिइन् । ३० बलको सामना गरेकी उनले १ चौकासहित उक्त रन बनाएकी थिइन् । यी दुई बाहेक टोलीका लागि कविता जोशीले १२ रन , मन्जु बोगटीले ५ रन र रेवती धामीले २ रन बनाएकी थिइन् । बलिङतर्फ बागमतीका लागि आरती बिडारीले २ ओभर बलिङ गर्दै १३ रन खर्चिएर ३ विकेट हात पारिन् । भने निशा तामाङले पनि १ विकेट लिएकी थिइन् । सेमिफाइनल पुग्ने क्रममा सुदूर पश्चिमले समूह चरणमा ३ खेल मध्ये २ खेल आफ्नो पक्षमा पार्न सफल भयो ।र सुदूर पश्चिमसँग पराजित बागमती समूह चरणबाटै बाहिरिने दोस्रो टोली बनेको छ । यसअघि गण्डकी प्रदेश बाहिरिएको थियो । यस समूहबाट सुदूर पश्चिमसँगै प्रदेश १ ले सेमिफाइनल पक्का गरिसकेका छन् । अब गण्डकी र प्रदेश १ बिच हुने खेलले समूहको विजेता र उपविजेता टुंगो लगाउने छ ।