AgniSapkota photo.jpg

काठमाडौं– विघटित सङ्घीय संसद्का सभामुख अग्निप्रसाद सापकोटाले अहिलेकै अवस्थामा संसद् विघटन हुन नसक्ने बताउनु भएको छ । सभामुख सापकोटाले संविधानको रक्षाका लागि आफूले खेल्नुपर्ने भूमिकाबारे सबै पक्षसँग छलफल गरी परामर्श लिइरहेको बताउनु भएको छ । अहिलेको अवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने संविधानिक अधिकार नभएको भन्दै ‘मैले आफ्नो भनाइ र दृष्टिकोण पहिले नै सार्वजनिक गरेको छु’ भन्नुभएको छ ।

आज सभामुख सापकोटालाई ज्ञापनपत्र बुझाउन पुग्नुभएका नेकपा (प्रचण्ड–माधव समूह) को अखिल नेपाल महिला सङ्घ, नेपाली कांग्रेसको महिला भातृसंगठन नेपाल महिला सङ्घ, जनता समाजवादी सम्बद्ध समाजवादी महिला सङ्घ र विवेकशिल साझा पार्टीको भातृसंगठन विवेकशील साझा महिलाको संयुक्त टोलीसँग कुरा गर्दौ उक्त धारणा व्यक्त गर्नुभएको हो ।

सभामुख सापकोटाले आफु संविधानको रक्षाका साथै देश र जनताको हितका निम्ति सधैं समर्पित हुने भन्दै ‘अहिले सभामुखको जिम्मेवारीको हिसाबले मेरो भूमिका के हुन्छ, संविधानको रक्षाका लागि, समग्र परिस्थितिमा मैले कसरी भूमिका खेल्न सक्छु, जनताको अधिकतम हितका लागि के भूमिका खेल्नुपर्छ भनेर मैले राष्ट्रका सम्बद्ध पक्षसँग वृहत, व्यापक परामर्श राय सल्लाह सुझाव लिइरहेको छु’ भनि संयुक्त टोलीसँग प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।