bhanu 101.jpg

काठमाडौं –संस्कृति पर्यटन मन्त्री भानुभक्त ढकालले कोभिड–१९ बाट मानव जीवनको रक्षा गर्ने दायित्व निर्वाह गर्दा विकास निर्माण लगायतका कामहरु ओझेलमा परेको स्वीकार गर्नुभएको छ । बिहीबार नेपाल पर्यटन बोर्डको २२ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन मन्त्री ढकालले कोभिडबाट मानव जीवन जोगाउन सरकारको ध्यान केन्द्रीत हुँदा विकास निर्माण, पर्यटन लगायतका क्षेत्रका कार्यक्रमहरु कार्यान्वन गर्न नसकिएको बताउनुभएको हो । कोरोना भाइरसका कारण पर्यटन वर्ष २०२० स्थगित गर्नुपरेको र यसले पर्यटन क्षेत्रमा ठूलो क्षति निम्त्याएको उहाँले बताउनुभयो ।

कोभिडका कारण ठप्प भएको पर्यटन क्षेत्रको विकासका लागि सरकारले गर्न सक्ने कामहरु गर्न मन्त्रालय प्रतिबद्ध रहेको र सरकारले पर्यटन जीवनलाई माथि उकास्ने र आगामी दिनमा गर्न सक्ने कार्यहरुलाई प्राथमिकता दिएर कार्यान्वयनमा लैजाने समेत मन्त्री ढकालले भर्नुभयो । पछिल्लो समय बेलायतबाट फैलिएको कोरोना सङ्क्रमणको नयाँ स्वरुपका कारण केही देशबाट हुने अन्तर्राष्ट्रिय उडान बन्द गरिएको र मानिसको जीवन बचाउने कुरा नै पहिलो प्राथमिकता भएकाले सरकारले त्यसैअनुरुप काम गरिरहेको मन्त्री भानुभक्त ढकालले स्पष्ट पार्नुभयो ।