Sun_baramd.jpg

काठमाडौँ – महानगरीय प्रहरी वृत्त बौद्धले नौ महिनासम्मको खोज अनुसन्धानपछि सुनचाँदी चोरेर फरार समूहलाई पक्राउ गर्न सफल भएको छ । महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख नवीन कार्कीका नेतृत्वमा सुनचाँदी चोरी गर्ने सात अभियुक्त लागुऔषधसहित पक्राउ परेका छन् । प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार झापा स्थायी ठेगाना भई काठमाडौँ आरुबारी बस्ने २७ वर्षीय सोनाम लामा उक्त चोरी समूहको मुख्य नाइके रहेका छन् भने उनीसँगै चोरी तथा लागुऔषधमा संलग्न झापा कन्काईका २५ वर्षीय सनम माझी, शिवसतासीका २३ वर्षीय विजय लिम्बू, भोजपुर पौवादुङ्माका ३२ वर्षीय सन्तोष विक र ३५ वर्षीय सूर्यबहादुर श्रेष्ठ तथा सिन्धुपाल्चोकका ३७ वर्षीय सञ्जीव तामाङ र भारतीय नागरिक युवराज बलु बबर रहेका छन् ।

लामो समयदेखि चोरीमा संलग्न अभियुक्तको खोज तलासमा प्रहरीले निकै मेहनत गरेको थियो । सातजनालाई बुधबार पक्राउ गरी खोजतलास गर्दा सबै घटनाक्रम खुल्न आएको हो । काठमाडौँको बौद्धक्षेत्रलाई लक्ष्य गरी लामो समयदेखि सो समूह चोरीमा संलग्न रहेको खुल्न आएको छ । दिउँसो घरमा कोही नभएका अवस्थामा तथा बन्द रहेका सटर र ढोका फोरेर चोरी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । चोरी समूहमा संलग्न अभियुक्तका साथबाट प्रहरीले औँठी र सिक्री गरी ६४ तोला ३४ लाल सुन, पाँच किलो ६ सय ९३ ग्राम चाँदी र पाँच लाख ३३ हजार ७० रुपैयाँ बराबरको रकम बरामद गरेको छ । प्रहरीले चोरीका मुख्य अभियुक्त लामा र अन्य अभियुक्तका कोठा तथा बबरको पसलबाट सुनचाँदी बरामद गरेको हो ।

प्रहरीले उनीहरुका साथबाट लागुऔषध खैरो हेरोइन २७ ग्राम, पाँच लाख ३२ हजार रुपैयाँ, अमेरिकी डलर ६ सय ६० तोला ८७ लाल सुन, पाँच किलो ६ सय ९३ ग्राम चाँदीसहित लुटपाटमा प्रयोग भएको बागमती प्रदेश ०२०२० प ६६११ र बागमती प्रदेश ०२–००५ प ३८३५ नं को स्कुटर बरामद गरेको छ । साथै ल्यापटप, मोबाइल, लागुऔषध तौल गर्न र सुनचाँदी जोख्ने तराजु एवं दुई थान यन्त्र, गरगहना गाल्न प्रयोग हुने उपकरण पत्थरलगायत सामग्री बरामद गरिएको छ । विभिन्न घर तथा पसलबाट चोरी गरेको सुन अभियुक्तले जोरपाटी बराल पेट्रोल पम्प नजिकैको गणेश टन्च सेन्टर नामको सुनचाँदी परीक्षण केन्द्रमा लगेर त्यसको स्वरुप परिर्वतन गरी बेच्ने गरेको पाइएको छ । चोरीमा सहयोग गर्दै सामानको स्वरुप परिर्वन गरी बिक्रीवितरण गर्ने पसल सञ्चालक २३ वर्षीय बबरलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । उनले सञ्चालन गर्दै आएको उक्त पसल हालसम्म दर्ता नभएको प्रहरीले बताएको छ ।