yaman air 2077 photo.jpg

यमनको एडेन शहरस्थित विमानस्थलमा विमानमाथि आक्रमण भएको छ । उक्त आक्रमणमा परी २२ जनाको ज्यान गएको छ भने ५० भन्दा बढि मानिसहरु गम्भीर घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । मन्त्रिमण्डलका नयाँ सदस्यहरुलाई लिएर आएको भनिएको विमानबाट यात्रुहरु बाहिर निस्कन लागेको मौकाछोपी बिस्फोट गराइएको छ ।

यमन लामोसमयदेखि आन्तरिक युद्धको चपेटाको शिकार बन्दै आएको छ । सन् २०१५ देखि युद्धको भूमरीमा जकडिएको यमनमा अहिलेसम्म युद्धकै कारण एक लाख १० हजारभन्दा बढिको ज्यान गैसकेको छ । छिमेकी देश साउदी अरेबियाबाट यमनका नयाँ सरकारका प्रतिनिधिहरुलाई लिएर आएको उक्त विमान अवतरण गरेको केही समयमै ठूलो बिस्फोट भएको समाचारमा जनाइएको छ । तर त्यहाँका प्रधानमन्त्री माइन अब्दुलमलिक सैदले भने आफु आफ्नो मन्त्रिमण्डलका सदस्यहरु सुरक्षित नै रहेको बताएका छन् ।

त्यहाँका सञ्चारमन्त्रीले यो कायरता र आततायी आक्रमणमा हुथी बिद्रोहीहरुको हात रहेको बताएका छन् । विमानस्थलमा भएको उक्त बिस्फोटनमा परी मृत्यु र घाइते भएकाहरुमा सरकारी अधिकारी र सहायताकर्मीहरु रहेको भनिएको छ । उक्त आक्रमणमा परी केही मन्त्री पनि घाइते भएका र सबै घाइतेहरुको स्थानीय अस्पतालमा उपचार र्भरहेको छ । यमनस्थित हुथी बिद्रोहीहरुलाई पराजित गरी राष्ट्रपति अब्डाब्बुह मन्सुर हादीको शासन स्थापना गर्नका लागि साउदी अरेबियाको नेतृत्वमा त्यहाँ युद्ध हुँदै आएको छ ।

समाचारमाध्यमहरुले जनाए अनुसार त्यहाँ मन्त्रीहरुको स्वागत गर्न पुगेका मानिसहरु बिस्फोटको आवाज आएपछि भागेका र गोलिपनि चलेको थियो । उक्त समयमा विमानस्थलमा दुई पटक बिस्फोट भएको एएफपीले जनाएको छ । विमानस्थल सुरक्षा निकायले रोयटर्स समाचार संस्थालाई बताए अनुसार टर्मिनल भवनमा तीनवटा मोटार शेल्स खसेको थियो । विमानस्थलमा के कारणले विस्फोट गराइएको भन्ने तथ्य नआएता पनि साउदी टेलिभिजन अल हादाथले भने मिसाइल आक्रमण भएको जनाएको छ ।