aaglagi-6_cdrjPF4uYp.jpg

काठमाडौं –ताप्लेजुङको पाथीभरा क्षेत्रको जङ्गलमा लागेको आगोले चरन तथा बासस्थान खरानी बनाएपछि रेडपाण्डा, रातो हाबे्र सङ्कटमा परेका छन । ६ दिन पहिले देखि लागेको डढेलो पाथीभरा क्षेत्रको अनुमानित ९० हेक्टर वन क्षेत्रमा डढेलो फैलिसकेको डिभिजन वन कार्यालयका फोरेस्टर फुपुग्याबु शेर्पाले जानकारी दिनुभएको छ । डढेलो फैलिने क्रम जारी रहेकाले कति वन क्षेत्र डढेलोले नष्ट गर्छ भन्ने अहिले आकलन गर्न नसकिने शेर्पाको भनाइ छ ।

पाथीभरा क्षेत्रको बनमा ८० हेक्टरभित्रको ब्लकमा आठदेखि ११ सम्म रेडपाण्डाको राम्रो चरन तथा बासस्थान भएको रेडपाण्डा क्षेत्रमा काम गर्दै आएको संस्था हिमाली संरक्षण मञ्चका कार्यक्रम सम्योजक रमेश राईले बताउनुभयो । रेड पाण्डाको बासस्थान पूरै डढेलोले खरानी बनाएपछि कति रेडपाण्डा अर्को स्थानमा जान सफल भए र कति आगोले जलेर मरे अहिले अनुमान गर्न नसकिएको राईको भनाइ छ । आगलागीका कारण पाथीभरा क्षेत्रको फावाखोला जङ्गल र सिकैचा क्षेत्रको जङ्गलसमेत जलेको छ । हावा चलेको कारणले आगो एक क्षेत्रबाट अर्को क्षेत्रमा सजिलै फैलिरहेको छ हिउँ वा पानी नपरेसम्म आगो निभाउन नसक्ने अवस्था रहेको पाथीभरा क्षेत्र विकास समितिका निर्देशक मनमणि काफ्लेले जानकारी दिनुभयो । पाथीभरा क्षेत्रको पश्चिमपट्टि रहेको मयाम पाताल जङ्गलमा आगो प्रवेश गरे मानव बस्तीमा पनि क्षति हुने उहाले जानकारी दिनुभयो ।

काठमाडौंबाट आएको सिम्रिक एयरको हेलिकप्टरले आगो नियन्त्रण गर्ने प्रयास गरेता पनि आगो निभेको छैन । सोमबार हेलिकप्टरबाट पाँच पटकसम्म पानी खसाले पनि आगो निभेको थिएन । गत बिहीबारदेखि फुङलिङ नगरपालिका ११ फावाखोलामा रहेको सिम्बु सामुदायिक वन क्षेत्रमा लागेको डढेलो पाथीभरा मन्दिर नजिकै पुगेको हो । आगलागीको कारण भनेअझै खुलेको छैन । स्थानीयवासीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो निभाउने प्रयास गरिरहेका छन् ।