निर्वाचन_आयोग_(नेपाल)_02.jpg

काठमाडौं – सरकारले संसद् विघटन गरी मध्यावधी निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले काम अगाडि बढाएको छ । आगामी बैशाख १७ र २७ गतेका दिन प्रतिनिधिसभाको निर्वाचन हुने नहुने यकिन नभए पनि आयोगले प्रारम्भिक तयारी सुरु गरेको छ । संसद् विघटनका विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएर संवैधानिक इजलासमा बहस सुरु भैसकेको छ । सर्वाेच्च अदालतले गर्ने फैसलाबाट मात्र निर्वाचन हुने वा नहुने कुराको टुङ्गो लाग्ने छ । तर आयोगले भने सरकारले घोषणा गरेको मितिलाई आधार बनाएर निर्वाचनको तयारी गरेको छ । यसैअनुरुप आयोगले मतदाता नामावली अद्यावधिक गर्ने कार्यलाई प्राथमिकतमा राखेको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार मतदाता नामावली अद्यावधिक गर्ने काम अगाडि बढाइसकेको छ । निर्वाचनको कार्यतालिक तयार पार्ने गृहकार्यसमेत सुरु गरेको जनाएको छ । आयोगले यसपटक सकेसम्म युवा मतदाता समावेश हुने गरी अद्यावधिक गर्ने प्रयास गर्दै छ । आयोगको कर्मचारी तहले कार्यतालिका तयार पारेपछि आयोगका अध्यक्षसहितको टोलीले त्यसलाई अनुमोदन गरेर अन्तिम रुप दिने छन् । आयोगका प्रवक्ता श्रेष्ठका अनुसार कार्यतालिकाको मस्यौदा तयार भैरहेको छ ।

सर्वोच्च अदालतको फैसला छिट्टै आउने अवस्था त देखिंदैन । तर पनि निर्वाचन आयोगले आफ्नो तयारीलाई निरन्तरता दिंदै निर्वाचन गराउनका लागि आवश्यक पर्ने सामग्रीहरुको बारेमा छmफल र तयारी समेत थालेकोे छ । अहिले कति सामग्री छ, कति खरिद गर्नुपर्ने हो र कति सहयोग माग्ने भन्ने सम्बन्धमा पनि मूल्याङकन भइरहेको छ आयोग प्रवक्ताको भनाइ छ । निर्वाचनका लागि आवश्यक बजेटका सम्बन्धमा पनि गृहकार्य भइरहेको छ । यस पटक निर्वाचनका लागि भने खासै नयाँ कानुन नचाहिने र पुराना कानुनले नै निर्वाचन गराउन सकिने आयोगले जानकारी दिएको छ ।