ukhu-kisan 2077.jpg

काठमाडौं — काठमाडौंको मध्यजाडोको चिसोको परवाह नगरी आन्दोलनमा उत्रिएका उखु किसानहरुले अन्ततः न्याय पाउने भएका छन् । माइतीघर मण्डलामा धर्ना बसेर आन्दोलन गर्दै आएका उखु किसान र सरकारबीच चार बुँदे समझदारी भएको छ । आज पुष १३ गते सिंहदरवारस्थित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा २१ दिनभित्र किसानको सबै बक्यौता रकम उपलब्ध गराउने सहमति भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । गत वर्ष पनि चिनीमिलका मालिकहरुले उखुको भुक्तानी नदिएको भन्दै पिुषकै जाडोमा राजधानी आइ १ महिने आन्दोलनमा उत्रिएका थिए ।

गतवर्ष पनि सरकार र उखु किसानबीच भुक्तानी दिने गरी समझदारी भएको थियो । चिनी मिलका मालिकहरुले गतवर्ष सहमति भए अनुसार भुक्तानी नदिएको भन्दै अहिले पनि काठमाडौंको मध्यजाडोमा माइतिघर मण्डलामा धर्ना दिएका थिए । आज आन्दोलित किसानका प्रतिनिधि र सरकारबीच भएको समझदारी पछि काठमाडौंमा जारी आन्दोलन स्थगन गर्न किसानहरु सहमत भएका छन् । उखु किसानहरुले चिनीमिलबाट पाउनु पर्ने बक्यौता रकम २१ दिन भित्र उद्योगीबाट दिलाई दिन मन्त्रालयले पहल गर्ने त्यो सम्भव नभए कानुनी प्रक्रिया अघि बढाउने गरी सहमति गर्न किसानहरु तयार भएको मन्त्रालयले जनाएको छ ।