New covid photo.jpg

काठमाडौं– बेलायतबाट आएका १९३ जनालाई स्वास्थ्य तथा जनसङ्ख्या जनसङ्ख्या मन्त्रालयले निगरानीमा राखेको छ । कोरोना भाइरसको भेरियन्ट (नयाँ प्रजाति) विश्वभर फैलिने खतरा बढेसँग नेपालमा पनि यसको प्रकोप बढन सक्ने हुँदा उनीहरुलाई निगरानीमा राखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेका अनुसार निगरानीमा राखिएकालाई रुघा र ज्वरो आएकोले उनीहरुलाई पीसीआर परीक्षण गरेर उपचार गरिने जानकारी दिनुभयो । बेलायतबाट आएका मध्ये पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ ।

महाशाखाले जनाएअनुसार आजमात्र १२ जनाको पीसीआर परीक्षण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसअघि नै सूचना जारी गरी यही पुस १ गतेदेखि ७ गतेसम्ममा बेलायत अथवा बेलायतको बाटो हुँदै नेपाल आएका सबै यात्रुले अनिवार्य १० दिन होटल क्वारेन्टिनमा बस्न अनुरोध गरेको थियो ।

मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारी कोरोना भाइरसको भेरियन्ट (नयाँ प्रजाति) को विकसित रुप नै नयाँ प्रजातिको भाइरस रहेको बताएका छन् । ‘भाइरस परिवर्तन हुन्छन् । त्यस्तै कोरोना भाइरस परिवर्तन भएर नयाँ भाइरस बनेको हो’, सह–प्रवक्ताले भने, ‘ कोरोना भाइरस जस्तै यसको लक्षण हुन्छ । यसको सर्ने क्षमता भने अलि बढी नै छ । थप अध्ययन हुन बाँकी छ ।’

सह–प्रवक्ता डा. अधिकारीका अनुसार कोरोना भाइरस जस्तै यसले पनि फोक्सोमा असर गर्दछ । बेलायत, अमेरिका र अफ्रिकाबाट आएका मानिसको पिसिआर परीक्षण र क्वारेन्टिनमा राखिएको उनले बताएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. पाण्डेले पिसिआर परीक्षणबाट नै नयाँ प्रजातिको भाइरस पत्ता लगाउन समस्या भइरहेकाले पुनःपरीक्षणका लागि बाहिर पठाउने तयारी भइरहेको जानकारी दिए ।

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले जानकारी दिएअनुसार नयाँ प्रजातिको भाइरसका बिरामी कोरोना भाइरसको जस्तै रहेको र यसले सङ्क्रमण सार्ने दर धेरै भएकोले सबैलाई सचेत रहन समेत आग्रह गरेका छन् ।