लिओनिंग प्रान्त(चीन) – चीनको उत्तर पूर्वी प्रान्त लिओलिङमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु आक्रमण गर्दा सात जना घाइते भएका छन् । उक्त आक्रमण किन र केका लागि भएको भन्ने प्रष्ट भएको छैन । लिओनिंग प्रान्तको एउटा सानो शहर कायायुआनमा उक्त घटना भएको चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ । ती छुरा हान्ने सङधिग्न व्यक्ति पक्राउ परेका छन् ।

चीनमा यस्तो प्रकारको हिंस्रक अपराध तुलनात्मक रुपमा कमै हुन्छन् तर पछिल्लो केही वर्षमा चक्कु तथा धारिलो हतियारहरुले आक्रमण गर्ने घटना बढ्दै गएको छ । हङ्गकङको साउथ चाइना मर्निङ पोस्ट (एससीएमपी) समाचार पत्रले जनाए अनुसार कायायुआनमा चक्कुमार्फत् हमला भएको हो । स्थानीय समयानुसार करिब ८ बजे चक्कु प्रहार गरिएको थियो । ती व्यक्तिलाई नियन्त्रण गर्ने क्रममा एक प्रहरी समेत घाइते भएका छन् । एससीएमपीलाई दिएको जानकारी अनुसार उक्त आक्रमण एक स्कूल बाहिरबाट भएको थियो । उक्त आक्रमणमा अधवैंशे महिला र वृद्धा घाइते भएका छन् । लियू उपनाम भएकी एक महिलाले भनिन्, ‘यो त राहतको कुरा हो कि आज स्कूल बन्द छ । नभए थुप्रै मानिस यसको शिकार हुने थिए ।’