भोलि देखि पुस २० गतेसम्मका  लागि मनकामना केबलकार बन्द

भोलि देखि पुस २० गतेसम्मका लागि मनकामना केबलकार बन्द

मुग्लिन — मनकामना केबलकार सेवा एक साताको लागि बन्द हुने भएको छ । नियमित मर्मत सम्भारका लागि सात दिन बन्द गरिने भएको हो । यही पुस १४ गते अर्थात भोलि देखि पुस २० गतेसम्मका लागि बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिएका छन् । कोरोनाको महामारीसँगै नौ महिनासम्म बन्द रहेको केबलकार गत मंसिर २८ गतेबाट पुनः सञ्चालनमा आएको थियो । केबलकार सञ्चालनको पहिलो दिन नै एक हजारभन्दा बढी भक्तजनलाई सेवा दिन सफल मनकामना केबलकारमा दिनानुदिन भक्तजनको चाप बढ्दै गए पनि केबलकार मर्मत कम्पनीको प्राविधिक निर्देशिका र आवश्यकता अनुसार नियमित बृहत् मर्मतसम्भारको समय तालिकामा अनिवार्य सेवा बन्द गरी मर्मत गर्नुपर्ने भएकाले एक साताका लागि बन्द गर्न लागिएको छ । नियमित मर्मतसम्भारपछि पुस २१ गते मंगलबारदेखि पुनः नियमित सेवा सञ्चालन गरिने मनकामना दर्शन प्रालिले जनाएको छ । मनकामना केबलकारको सेवा बन्द रहे पनि मनकामना मन्दिर भने भक्तजनका लागि नियमित खुल्ला नै रहने मनकामना मन्दिरका मूल पुजारी इन्सान थापामगरले जानकारी दिएका छन् । उनका अनुसार सुरक्षा मापदण्ड अपनाएर दर्शनार्थीका लागि मन्दिर खुला गरिएको छ ।