aayal nigam.jpg

काठमाडौँ – नेपाल आयल निगमले एक वर्षको अवधिमा झण्डै १३ अर्ब रुपैयाँ नाफा आर्जन गरेको छ । पेट्रोलियम पदार्थको कारोबार गरेर निगमले एक वर्षको अवधिमा १२ अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको हो । कोराना भाइरसको महामारीको प्रभावले इन्धन खपत कम हुँदा पनि निगमले झन्डै १३ अर्ब रुपैयाँ नाफा कमाउन सफल भएको जनाइएको छ । निगमले आइतबार सार्वजनिक गरेको अन्तिम लेखा परीक्षण प्रतिवेदन अनुसार, मोतिहारी–अमलेखगञ्ज पेट्रोलयम पाइपलाईनबाट इन्धन आयात गरि ढुवानी रकम बचत हुनुका साथै अघिल्ला वर्षको नाफा रकमको ब्याज आम्दानी बढेपछि निगमको नाफा बढेको हो ।

निगमले आर्थिक वर्ष २०७५–०७६ मा ८ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको थियो । निगमका कार्यकारी निर्देशक शुरेन्द्र पौडेलका अनुसार, ब्याज आम्दानी, ढुवानी खर्चमा भएको बचत तथा एलपिजी ग्यासमा दिँदै आएको अनुदान घटेका कारण आर्थिक वर्ष २०७६–०७७ मा निगमको नाफा बढेर १२ अर्ब ८७ करोड पुगेको हो । समग्रमा निगमले पाँच प्रतिशतको हाराहारीमा मुनाफा आर्जन गरेको छ । पछिल्लो समय निगमले अवलम्बन गरेका सुधारका कार्यक्रमका कारण पनि नाफा बढ्न सहयोग पुगेको निगमको भनाई छ ।

निगमले अन्तर्राष्ट्रिय मुल्य अनुसार इन्धनमा स्वचालित मूल्य अनुसार स्थानीय बजारमा मूल्य समायोजन गर्दै आएको छ । निगमले इन्डियन आयल कर्पाेरेशन (आइओसी) ले पठाएको मूल्य अनुसार निगमले स्थानीय बजारमा मूल्य सामायोजन गर्ने गरेको छ ।