nepal china photo.jpg

काठमाडौं – नेपालको बदलिंदो राजनीतिक घटनाक्रमले दुवै छिमेकी देशका प्रतिनिधिहरुले भ्रमण गरेका छन् । हिजोमात्रै चार सदस्यीय चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा चार सदस्यीय टोली उच्चस्तरको प्रतिनिधिमण्डल काठमाडौं आइपुगेको छ । विशेष गरी नेपाल कम्यनिस्ट पार्टी (नेकपा) दुई गुटमा विभाजन भए पछि चिनियाँ चासो बढेको छ । चीनले पछिल्लो समय नेपाली राजनीतिलाई विशेष चासो दिंदै आएको छ ।

नेकपाको विवाद र पार्टी विभाजनलाई मिलाउन उच्चस्तरको चिनियाँ टोली नेपाल आएको आम मानिसहरुको बुझाइ छ । यसले अन्तराष्ट्रिय राजनीतिलाई समेत प्रभाव पर्ने देखिन्छ । हिजो आइतबार साँझ चिनियाँ प्रतिनिधि मण्डलले नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी नेपालको वर्तमान राजनीतिका बारेमा छलफल भएको उच्च स्रोतको भनाइ छ । हिजो चाइना एयरको विशेष विमानबाट नेपाल आएका उक्त प्रतिनिधिमण्डलले नेकपाको अर्को समुहका अध्यक्षद्वय प्रचण्ड र माधव नेपाललाई समेत आज अलग अलग भेट्ने र पछि सामुहिक रुपमा छलफल गर्ने कार्यक्रम रहेको स्रोतको भनाइ छ ।

उक्त टोलिले नेकपाको विवाद मिलाएर पार्टी एकतावद्ध भएर लाग्न दुवै पक्षलाई सुझाव दिने छ । नेपालको वर्तमान अस्थिर राजनीतिबाट ससङ्कित बनेको चीनले नेकपालाई मिलाउन ठूलो कसरत गर्ने छ । नेकपाको विवाद गहिरिँदै जाँदा त्यसको असर राष्ट्रिय राजनीतिमा पनि परेको अवस्थामा छलफल र संवादका लागि चिनियाँ टोली काठमाडौँ आइपुगेको हो ।

नेपाली राजनीतिले नयाँ मोड लिएको छ । सधैं भारतको अग्रसरता देखिंदै आएको नेपालमा अब चिनियाँ चासो प्रत्यक्षरुपमा देखिएको छ । नेपाल भारत, चीन र अमेरिकी त्रिशक्तिको चङ्गुलमा परेको छ । नेपालको राजनीतिमा भारतीय पक्ष जुन किसिमको हावी भएको देखिन्थ्यो विगतमा त्यो अबस्था रहेन । अमेरिकाले पनि आफ्नो स्वार्थ अनुरुप भारतलाई नेपाली राजनीतिमा संलग्न गराउँदै आएको थियो । आफु प्रत्यक्ष नदेखिने गरी । पछिल्लो समयमा चिनियाँ चासो बढ्नुको मुख्य कारण भनेको नेपालमा अस्थिरता उत्पन्न हुने वित्तिकै चौतर्फी रुपमा आफुलाई घेराबन्दी हुनसक्ने देखेको छ । उसले नेपालको माया भन्दा पनि आफ्नो स्वार्थमा राखेर हेरेको छ । अहिले नेकपामा देखिएको नयाँ घटनाक्रमलाई व्यवस्थापन गर्न आवश्यक ठानेर नै चिनियाँ उच्चस्तरको टोली नेपाल आएको राजनीतिक विश्लेषकहरुको बुझाइ छ ।