k10.jpg

काठमाडौं — मंसिर २८ गतेदेखि काठमाडौं आएर न्यायका लागि लडिरहेका सर्लाहीका वयोवृद्ध उखुकिसान गगनदेव रायको दुई विगाह खेत लिलामीबाट जोगिएको छ । सामाजिक अभियान्ताहरुले जुटाइएको सहयोग र चिनी मिलले तिरेको पैसाले धितो लिलामी नहुने निश्चित भएको अभियान्ता नवीन यादवले बताए । ‘आइतबारसम्म गगनदेवको खातामा पाँच लाख ५५ हजार रुपैयाँ जम्मा भएको छ, । अब लिलामी हुन्न, यादवले भने । अन्नपूर्ण चिनीमिलबाट दुई लाख ९१ हजार सहयोगस्वरुप दुई लाख ६४ हजार रुपैयाँ जुटेको उनले जानकारी दिए ।

यादवका अनुसार कृषि विकास बैंकको मलंगवा शाखाले ऋण नविकरण गरेर किस्ता लिन थाल्ने र अब लिलामी रोकिने जानकारी गराएको छ । मिलबाट आफ्नो बक्यौता रकम पाउनुपर्ने माग राख्दै माइतीघरमा धर्ना बस्दै गर्दा बैंकले तीन साता समय दिएर सर्लाहीको खर्वास्थित घरमा पत्र पठाएको थियो । गगनदेवले आफ्नो जग्गा लिलामी रोक्न कृषि बिकास बैंकलाई ९ दिनभित्र ९ लाख ५० हजार रुपैयाँ बुझाउनुपर्ने थियो । गगनदेव रायको परिवारको आम्दानीको मुख्य स्रोत उखु खेती हो । उनको परिवारले चार बिगाह खेतमा उखु लगाउँथे । त्यसैबाट आएको रकमले गगन देवको १० जनाको परिवारको गर्जो टार्दै आएको थियो । रायको परिवारले जिल्लाकै अन्नपूर्ण र महालक्ष्मी सुगर मिललाई वाषिक ६०० मेट्रिक टनसम्म उखु पु¥याउँथे । पछिल्ला वर्षहरुमा उखु मिलले बदमासी गर्न थाले । उखु लगेपछि पैसा पाउन गाह्रो हुन थाल्यो । उनले अन्नपूर्ण चिनी मिलबाट तीन लाख रुपैयाँ भन्दा धेरै रकम पाउन बाँकी थियो । मिलले दिएपछि तिरौंला भन्दै घर खर्च चलाउन स्थानीय साहुबाट ३६ प्रतिशत ब्याजमा उनले ऋण लिए । मिलबाट पैसा आएन । ऋणको साँवा र ब्याज बढेर ७ लाख नाघ्यो । स्थानीय ऋण महँगो भएपछि रायले त्यही उखु लगाएको खेत धितो राखेर १० लाख रुपैयाँ कृषि विकास बैंकबाट ऋण झिके । गाउँको साहूको ऋण तिरेर बाँकी पैसाले घर चलाए, तर पनि चिनी मिलबाट पैसा आएन । अहिले सोही ऋण चुक्ता नगरेको भन्दै बैंकले लिलामी प्रक्रिया अघि बढाएको हो ।

गगनदेवको खेत लिलामीबाट जोगाउन उनको बैंक खाता नविकरण गरिएको र केही सहयोग पनि जम्मा हुन थालेको सामाजिक अभियान्ता यादवले बताए । सहयोगस्वरुप शुक्रबारसम्म दुई लाख ६४ हजार रुपैयाँ खातामा जम्मा भएको पनि उनले जानकारी दिए ।