श्रम स्वीकृति नवीकरण गर्नका लागि नेपाल आउनैपर्ने अवस्था हट्यो

श्रम स्वीकृति नवीकरण गर्नका लागि नेपाल आउनैपर्ने अवस्था हट्यो

काठमाडौँ — वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकले श्रम स्वीकृति नवीकरण अब अनलाइनबाटै गराउन पाउने भएका छन् । वैदेशिक रोजगार विभागले यस्तो सेवाको व्यवस्था मिलाएको हो । यो सुविधाका कारण जहाँसुकै रहेका नेपालीले श्रम स्वीकृति नवीकरण गर्नका लागि नेपाल आउनैपर्ने अवस्था हट्ने भएको छ । विदेशमा रहेका नेपालीले विदेशबाटै श्रम स्वीकृति नवीकरण गर्न पाइने भएपछि दैनिक ५ सय जनाले वैधानिकीकरण पाउने भएका हुन्  । कोभिड–१९ को महामारी सुरु भएपछि श्रम स्वीकृति नवीकरणका लागि स्वदेश फर्किन नपाएकाहरुका लागि केही दिनभित्रै अनलाइनको नयाँ प्रणाली कार्यान्वयनमा आउनेछ । ‘अनलाइनमार्फत श्रम स्वीकृति नवीकरण गर्ने तयारी लगभग पूरा भएको छ । सोमबार वा मंगलबारदेखि कार्यान्वयनमा ल्याउने योजना छ,’ विभागका एक अधिकारीले जानकारी एिका छन्  ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले डेढ वर्षअघि नै वैदेशिक रोजगार नियमवाली–२०७६ लाई पाँचौं पटक संशोधन गरी श्रमिकले नेपाली दूतावासबाटै श्रम स्वीकृति नवीकरण गर्न दिने व्यवस्था गरे पनि कार्यान्वयनमा ल्याउन सकेको थिएन । वैदेशिक रोजगार विभागले दुई वर्षका लागि मात्रै श्रम स्वीकृति दिने गरेको छ । एउटै कम्पनीमा निरन्तर काम गर्न चाहेमा श्रमिकले अवधि थप गर्न विभागबाट पुनः श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ । गत आर्थिक वर्षमा मात्रै दुई लाख ७२ हजार जनाले विभागबाट पुनः श्रम स्वीकृति लिएका थिए । पहिले पाएको श्रम स्वीकृतिको प्रतिलिपि, राहदानीको प्रतिलिपि, अघिल्लो पटक र हाल प्राप्त गरेको भिसा, रोजगार करारपत्र, जीवन बिमा र कल्याणकारी कोषमा रकम भुक्तानी गरेपछि दूतावासले सहजै पुनः श्रम स्वीकृति दिन सक्नेछ । कल्याणकारी कोष र बिमाको रकम पनि अनलाइनबाटै दिने व्यवस्था मिलाएको छ ।