काठमाडौं — संसद विघटनको विरुद्ध देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको नेकपा प्रचण्ड–माधव पक्षले आइतबार देशका सबै जिल्लामा जिल्लास्तरीय कार्यकर्ता भेला गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुष ५ गते असंवैधानिक ढङ्गले संसद विघटन गरे पश्चात् त्यसको विरुद्धमा प्रचण्ड नेपाल समुहकोे नौ गते सम्पन्न केन्द्रीय समिति बैठकले पुष १० गतेबाट पहिलो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
प्रचण्ड— नेपाल पक्षले संसद विघटनलाई असंवैधानकि, अलोकतान्त्रिक र प्रतिगामी कदम भनेको छ । सोही क्रममा पुस १० गते पार्टीका केन्द्रीय सदस्य र सांसदहरु माइतीघरमा भेला भएर संसद विघटनको विरोध गर्दै जुलुससहित निर्वाचन आयोग पुगेर हस्ताक्षर बुझाएका थिए । त्यसैदिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले संसद पुनःस्थापना गरेरै छोड्ने बताएका थिए । त्यस्तै उनीहरुले नेकपाको मुलधार आफुहरुले नेतृत्व गरेको पार्टी नै भएको भन्दै आफ्नो पक्षमा झण्डै दुई तिहाइ केन्द्रीय सदस्य रहेको पनि जानकारी गराएका थिए ।