NEE.jpg

काठमाडौं —संसद विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रचण्ड–माधव नेपाल समूहले माइतीघरबाट आन्दोलन सुरु गरेका छन् । ‘हामी यहाँ छौं’ लेखिएको प्लेकार्डसहित अध्यक्ष माधव नेपाल, नेता झलनाथ खनाललगायतका नेता–कार्यकर्ताहरु प्रदर्शनमा सहभागी भएका छन् । उनीहरुले संसद विघटन असंवैधानिक भएको भन्दै चर्का नाराबाजी गरेका छन् । नेकपाको प्रदर्शनलाई मध्यनजर गर्दै बानेश्वर माइतीघर सडकखण्ड खाली गराइएको छ । माइतीघर मण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने र २ बजे पत्रकार सम्मेलन गर्ने नेकपाको योजना रहेको छ ।

निवर्तमान मन्त्री घनश्याम भुसालले आधिकारिक नेकपा आफूहरु रहेको भन्दै निर्वाचन आयोगमा जाने र संसद विघटन असंवैधानिक भएको भन्दै सर्वोच्च अदालत पनि जाने बताउनु भएको छ । आफूहरु आधिकारिक भएको दाबीसहित प्रचण्ड—माधव समूहले बहुमत केन्द्रीय सदस्यहरुको हस्ताक्षर यसअघि नै निर्वाचन आयोगमा बुझाइसकेका छन् । साथै संसद विघटनविरुद्ध परेका रिटहरुको आज संवैधानिक इजलासमा सुनुवाइसमेत हुँदैछ ।

हिजो अर्थात पुष ९ गते बसेको केन्द्रीय कमिटी बैठकले आजबाट दैनिक रूपमा कुनै न कुनै प्रकारको विरोध गर्ने र १४ गते देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । विरोध प्रदर्शनका लागि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा समिति गठन गरेको छ । केन्द्रीय समिति बैठकको समापनको बेला प्रचण्ड–माधव समूहका अध्यक्ष तथा संसदीय दलका नेता प्रचण्डले प्रतिगामी षड्यन्त्र सुरु भएको भन्दै जीवन–मरणको संघर्ष गर्नुपर्ने बेला आएको बताएका थिए ।